भारत, अमेरिका र बेलायतका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया शुुरु
१६ कात्तिक २०७८ काठमाडौं । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ ।
संसदीय सुनुवाई विशेष समितिको आज सिंहदरबारमा बसेको बैठकले भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदुत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यविरुद्ध १० दिने उजुरी आह्वान गरेको हो ।
गत कात्तिक ११ गते बसेको मन्त्रिपरिषद बैठकले राजदूत नियुक्त गर्न सिफारिस गरेका राजदूतहरुविरुद्ध उजुरी आह्वान गरिएको छ । प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी दिन आह्वान गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो ।
उहाँले सो उजुरीको सूचना भोलि सरकारी सञ्चार माध्यामबाट प्रकाशित गरी नागरिकलाई सो बारे जानकारी दिन समितिका सचिवलाई निर्देशन समेत दिनु भयो । सभापति कर्णले भन्नुभयो, ‘भारत, अमेरिका र बेलायतका लागि समितिमा प्रस्तावित राजदूतहरुको नाम सुनुवाइका लागि प्राप्त भएअनुसार नागरिकलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा सूचना तथा उजूरी संकलन गर्ने उद्देश्यले सरकारी सञ्चार माध्यममार्फत् सूचना सार्वजनिक गर्न समिति सचिवलाई निर्देशन दिन्छ ।’
प्रस्तावित राजदूतविरुद्ध १० दिनभित्र परेको उजुरीमाथि छलफल गरेपछि समितिले उनीहरुको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्नेछ ।
प्रतिक्रिया