Main News

जनता जति बाढी र पहिरोमा सलल… नेता भने जिपलाइनमा सरर… (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ६ गते २०:३६
जनता जति बाढी र पहिरोमा सलल… नेता भने जिपलाइनमा सरर… (भिडियो रिपोर्टसहित)

६ कात्तिक २०७८ काठमाडौं । देशभर बाढी पहिरोको कहर चलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिफ्रेसका लागि भन्दै सुकुटे बिचदेखि धुलिखेल जिपलाइन शयर गरेको प्रसंगले सामाजिक सञ्जाल भरिएका छन् । नागरिक समस्यामा परेका बेला उनीहरुको पीडा महशुस गर्न नसकेको भन्दै आलोचना भएको छ ।

अनपेक्षित रुपमा बदलिएको मौसमले देशभर बाढी र पहिरोका घटना भएका छन् । कयौँ मानिसको मृत्यु भएको छ, कयौँ घाइते छन् । पहिरोमा पुरिएका केही व्यक्ति अझै बेपत्ता छन् ।

भित्राउन ठिक्क पारेको कयौँ हेक्टर क्षेत्रको धानबाली नष्ट हुँदा किसान रोइरहेका छन् । सरकारकै तथ्यांकमा मोटामोटी दश अर्ब बराबरको आर्थिक नोक्सानी भइसकेको छ । बर्खाभरिको मेहनत केही क्षेणको वर्षाले माटोमा मिलाइदिएको छ । पाकेको धान भिजेर फेरि टुसाएको छ ।

नागरिकहरु यो बज्रपातपछि अब के गर्ने कसो गर्ने चिन्ताले पिल्सिएका छन्, आँखाअगाडि अँध्यारो मात्र देखिरहेका छन् । तर यहीबेला सत्ताधारी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने रिफ्रेस हुन सुकुटे बिच पुग्नुभयो । सुकुटेमा र्‍याफटिङ गरेर धुलिखेलमा जिपलाइनको आनन्द लिनुभयो ।

हुन त घुम्ने फिर्ने, मनोरञ्जन लिने भन्ने कुरा मानिसको व्यक्तिगत स्वतन्त्रताको विषय हो । तर सार्वजनिक व्यक्तित्वको यस्तो प्रवृत्तिलाई उसको निजता मात्र हो भनेर स्वीकार गर्न आम नागरिक तयार छैनन् ।

कस्तो समयमा कस्तो चरित्रमा पेश हुने भन्ने समेत हेक्का नराखेरै होला प्रचण्ड अहिले सर्वाधिक हाँसोको पात्र बन्नु भएको छ । प्रचण्डको सुकुटे बिचको रिफ्रेसमेन्ट र त्यसपछिको जिपलाइन मस्तीका दृष्य सार्वजनिक भएसँगै अहिले हरेक नागरिकको मनमा एउटै प्रश्न जबरजस्त उब्जिएको छ, के नेताहरु नागरिकको समस्या महसुस गर्न सक्छन् त ? गरिरहेका छन् त ?

जिम्मेवारीमा रहँदा, पहुँचमा रहँदा वा सार्वजनिक खपतका लागि नागरिकको छेउमा पुगिदिने र साथमा रहेको भ्रम छरिदिने बाहेक, नेताहरु नागरिकको पीडालाई महसुस गर्न सक्दा रहनेछन् भन्ने प्रतिनिधि उदाहरण प्रचण्डले पेश गर्नुभएको छ । जुन ठाउँमा गयो त्यहीको भेष बदल्न सिपालु छेपारोजस्तो शैली अपनाउनु हुने प्रचण्डले केही दिनअघि मात्र नवलपरासी गएर हिन्दीमा बोल्दै त्यहाँका जनतासँग लभ परेको बताउनुभएको थियो ।

तर प्रेमिकाका धान खेत पानीमा बगिरहँदा, घर डुबिरहँदा र परिवारका सदस्य बगिरहँदा जिपलाइनको हावामा कावा खाने प्रचण्डभन्दा निर्मोही धोकेवाज प्रेमी को होला ? बरु उहाँको जिपलाइनमा मस्ती गरिरहेको तस्बिरसँग यतिबेला तुइन तरेर विद्यालय जान विवश बालबालिकाको तस्बिर जोडेर सामाजिक सञ्जालमा खिसिटिउरी गरिएको छ ।

त्यसो त बाढी पहिरोबाट पीडित बनेकाहरुलाई सान्त्वना दिन भन्दै सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत एमसीसी पास गर्ने भाषण गरेर फर्किनु भएको छ । कामकुरो एकातिर कुम्लो बोकी एमसीसीतिर लाग्नु भएका देउवाले नागरिकका आँशु पुछ्न, भोक र प्यास मेट्न अहिले आफूले के बोलिदिनुपर्ने थियो भन्नेसमेत हेक्का राख्नु भएन । बरु राहतको आशा गरेर प्रधानमन्त्रीको हेलिकप्टर हेर्न आएका नागरिकलाई अर्दलीलाई झैं हप्काउनुभयो ।

सरकारमा रहँदा माखो नमार्ने तर प्रतिपक्षमा पुगेपछि सरकारको कडै आलोचना गर्ने परम्परा दलहरुले जोगाइरहेकै छन् । प्रचण्ड सुकुटेमा रिफ्रेस भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा बसेर सरकार ढाल्ने आफ्नो सामर्थ्यको चर्चा गरिरहनु भयो ।

उहाँले पनि बेमौसमी बाढीको कहरले रोइरहेका नागरिकका विषयमा खासै बोल्नु भएन । दुई दिन चलेको स्थायी समितिको बैठकको दुई पाने निर्णयमा बाढी पीडितका बारेमा चुँक्क नबोल्ने एमाले र ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका कामले गिनिज बुकको आधा भाग भरिने अभिव्यक्ति दिएर जग हँसाउने काम गर्नुभएको छ ।

नागरिकका पीडाको घाउमा मल्हम पट्टी गरेर केही समयदेखि चर्चामा रहेकी पूर्व युवराज्ञी हिमानी शाह पनि यतिबेलाको बाढी पहिरोको कहरमा भने पार्टीमै रमाउनुभयो । कलाकार र निकटका व्यक्ति बटुलेर सोल्टी होटलको मेजमानी गरिरहँदा उहाँ र पूर्व राजा ज्ञानेन्द्रलाई पनि सायद जाबो कार्तिकको पानी पनि सहन नसक्ने जनता चाहिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *