बाढीपहिरो पीडितलाई तत्काल राहत दिने प्रधानमन्त्री देउवाको घोषणा
५ कात्तिक २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो पीडितलाई तत्काल राहत दिने बताउनुभएको छ ।
बाढी, पहिरोबाट क्षति भएको अवस्था बुझ्न सुदूरपश्चिम प्रदेश पुग्नुभएका प्रधानमन्त्री देउवाले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उद्धार, राहत र बजेट व्यवस्थापन कार्यक्रम तत्काल अघि बढाइने बताउनुभएको हो ।
उहाँले बेमौसमी वर्र्षातले सुदूरपश्चिमको अवस्था भयावह भएकोमा दुःख व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले वर्षात्पछिको बाढी र पहिरोले पूर्व र पश्चिम क्षेत्रमा धेरै ठूलो क्षति पु¥याएकोमा अल्पकालीन र दीर्घकालीन राहत र पुनर्निर्माणको योजनाहरू ल्याउने आश्वासन समेत दिनुभएको छ ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सुदूरपश्चिममा अविरल वर्षाका कारण बाढी पहिरोले सबैभन्दा बढी क्षति भएको छ, यो अत्यन्तै दुखद् कुरा हो, पहिरो आएको छ, बाढी आएको छ, धेरै मान्छेहरु मरेका छन्, सबै ठाउँमा बाढीले धेरै ठूलो क्षति गरेको छ, बझाङ, डोटी लगायत सबै ठाउँमा ठूलो नोक्शान भएको छ, खेतको धान बगेको छ, कुहिएको छ, अकल्पनीय क्षति भएको छ, बाटो छैन, बत्ती छैन, भयानक दुःख छ, हामी तत्काल दीर्घकालीन राहतको व्यवस्था गर्नेर्छौं ।’
फरक प्रसङ्गमा प्रधानमन्त्री देउवाले एमसीसी पास हुनुपर्ने आफ्नो अडान दोहो¥याउनुभयो । एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानून मातहत हुने भएकाले कुनै संसय गर्नुनपर्ने उहाँको तर्क थियो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘एमसीसी पास हुन्छ, एमसीसीको सबैभन्दा झुटो प्रचार गरिएको छ, वर्ल्ड बैंक छ, एडीबी छ, अन्तर्राष्ट्रिय कानून लागू हुन्छ, मुद्दा लाग्छ, उनीहरुले नेपालको कानून नै एमसीसी भन्दा माथि हुन्छ भनिसकेको छ, नेपालमा अनुदान आउनु राम्रो हो, सित्तैमा आउने पैसा हुँदैन, हुँदैन भन्छन् ।’
बाढी र पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री बिहीबार सुदूरपश्चिम पुग्नुभएको हो । देउवाले त्यहाँका बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ ।
प्रतिक्रिया