Main News

बाढी र पहिरोमा गयो १५ जनाको ज्यान, बझाङमा चार परिवार अझै सम्पर्कविहीन

हिमालय टिभी
२०७८ कार्तिक ३ गते ७:५७
बाढी र पहिरोमा गयो १५ जनाको ज्यान, बझाङमा चार परिवार अझै सम्पर्कविहीन

३ कात्तिक २०७८ काठमाडौं । देशको विभिन्न भागमा आएको बाढीपहिरोले एकैदिन १५ जनाको मृत्यु भएको छ। बेमौसमी झरीका कारण आएको बाढी र पहिरोमा परेर १५ जनाले ज्यान गुमाएका हुन् ।

पछिल्लो तीन दिनदेखि देशभर बेमौसमी झरी परिरहेको छ । भारतको बिहार र उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा परेका कारण पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातारको वर्षासँगै आएको बाढी(पहिरोमा परी डोटीमा ८ जना, बैतडीमा तीनजना र सुनसरीमा दुई जना तथा कालीकोट र डडेलधुरामा एकएक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार बाढी, पहिरोमा परी मृत्यु हुनेमा जिल्लाको शिखर नगरपालिका–११ की मन्दरा बलायर, जोरायल गाउँपालिका–३ का जोगी सार्की र जोरायल–४ का शेरबहादुर विक छन् ।

यस्तै मोहन विक, पवित्रा विक र रविन विकको पनि पहिरोमा परि मृत्यु भएको छ । यसैगरी सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो गई स्थानीय वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिए उहाँका छोरा १५ वर्षीय सागर र ११ आशिष कुन्जेडाको पनि मृत्यु भएको छ ।

सायल गाउँपालिका–१ स्थित छत्रे खोलाले बगाउँदा स्थानीय ७४ वर्षीय वीरे रोकाया बेपत्ता भएको अस्थायी प्रहरी पोष्ट छपालिले जनाएको छ ।

यस्तै बैतडीको शिवनाथ गाउँपालिका–६ मा घर माथिबाट खसेको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोमा परी पवित्रा पार्की,, भानु पार्की र सोम पार्कीको मृत्यु भएको छ ।

अविरल वर्षासँगै आएको पहिरोले सुनसरीको धरान उपमहानगरपालिका–१३ नागेश्वर मार्ग बस्ने निसान राईको घर पुरिँदा उनकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहानको मृत्यु भएको छ ।

यस्तै कालीकोटको महाबै गाउँपालिका(७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । यस्तै डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडामा घर भत्किंदा स्थानीय विष्णु अवस्थीको मृत्यु भएको छ ।

यस्तै बझाङमा तीन दिनदेखि परेको अविरल वर्षासँगै गएको पहिरोका कारण चार घरपरिवार सम्पर्कविहीन भएको छ ।

उता कञ्चनपुरमा महाकाली नदीमा फसेका पाँच जनाको हिजो साँझ हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका पाँचजनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *