Main News

दाहालको मोक्षभूमिलाई पद्यश्री साहित्य पुरस्कार, आचार्यलाई पद्यश्री साधना सम्मान

हिमालय टिभी
२०७८ असोज १२ गते ८:२३
दाहालको मोक्षभूमिलाई पद्यश्री साहित्य पुरस्कार, आचार्यलाई पद्यश्री साधना सम्मान

१२ असोज २०६७ काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा २०७७ सालको पद्मश्री साहित्य पुरस्कार लेखक तथा राजनीतिक—सामाजिक अभियन्ता केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई प्रदान गर्ने निर्णय गरेको छ ।

‘मोक्षभूमि’ उपन्यासमा लेखकले आजभन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरुको मुक्तिको गाथा र गरिमालाई चित्रण गरेका छन्, जहाँ युद्ध र अपराध, पाप र प्रायश्चित, प्रेम र यौन, सत्ता र सपना, स्वतन्त्रता र साधना, सङ्घर्ष र मोक्षको कथालाई मोक्षभूमि नामक काल्पनिक परिवेश दिएर चित्रण गरिएको छ ।
त्यस्तै पद्मश्री साधना सम्मान तीसको दशकदेखि सुगम गीतसङ्गीत तथा भजन गायनमा महत्वपूर्ण योगदान पुर्रयाएका गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई प्रदान गरिने भएको छ ।

२०४६ सालको एक साँझ काठमाडौंको बौद्धमा साङ्घातिक हमला भएपछि उनको गायनयात्रामा पूर्णविराम लाग्यो, जुन नेपाली गीतसङ्गीतका लागि ठूलो क्षति हो । १६ वर्षको छोटो सङ्गीत साधानाका माध्यमबाट पनि उनले लामो कालखण्डले सम्झिइरहने कालजयी सिर्जना दिएका छन् ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवैको राशी रु. तीन—तीन लाख रहेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभयो ।

विक्रम सम्बत २०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहराएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । त्यस्तै विक्रम सम्बत २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ ।

दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिँदै आएकोमा यो वर्ष कोरोनाको विषम परिस्थितिका कारण अनुकूल समयमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *