नारायणहिटी दरबारबाट श्रीपेच चोरी गर्न खोज्ने एक जना पक्राउ

८ असोज २०७८ काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्न खोजेको भन्दै एक जनालाई प्रहरीले पक्रेको छ ।
श्रीपेच चोर्ने प्रयास गरेका रुकुमको मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीलाई संग्राहलयमा खटिएका सुरक्षाकर्मीले समातेर प्रहरीको जिम्मा लगाएका हुन् ।
नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार टिकट काटेर अवलोकनका लागि संग्रहालय पुगेका घर्तीले श्रीपेच चोर्ने असफल प्रयास गरेका हुन् ।
श्रीपेच रहेको सिसा फुटाउन घर्तीले सोही कोठामा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी निकाल्ने प्रयास गरेका थिए । श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ ।
घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिनुभयो ।
उनको मानसिक स्वास्थ्य ठिक नभएको प्रारम्भिक अनुसन्धानले देखाएको सिंहले बताउनुभयो ।
प्रतिक्रिया