Main News

दल विभाजनसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक ल्याउँदै सरकार

हिमालय टिभी
२०७८ असोज ७ गते ८:०१
दल विभाजनसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक ल्याउँदै सरकार

७ असोज २०७८ काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक आज ल्याउने तयारी भएकव हो । आज संसदमा प्रतिस्थापन विधेयक दर्ता गराउने सरकारको तयारी छ ।

सरकारले दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्यको समर्थन आवश्यक पर्ने व्यवस्था अध्यादेशमार्फत संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत भए पुग्ने बनाएको थियो ।

उक्त व्यवस्था अनुसार नेकपा एमाले विभाजन गरी माधवकुमार नेपालसहितका नेताले नेकपा एकीकृत समाजवादी गठन गरेका छन् । त्यस्तै जनता समाजवादी पार्टी विभाजन गरेर महन्थ ठाकुरसहितका नेताले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका छन् ।

सरकारमा जाने तयारीमा रहेका केही दलमा मन्त्री नपाउने सांसदहरु असन्तुष्ट भएर नयाँ दल खोल्ने चिन्ताबीच मन्त्रिपरिषद् बिस्तार रोकिएको छ । प्रतिस्थापन विधेयकमा पुनानै व्यवस्था कायम गर्ने सरकारको तयारी छ ।

पुरानो व्यवस्था अनुसार दल विभाजनका लागि कम्तिमा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत समर्थन आवश्यक पर्छ । सरकारले प्रतिस्थापन विधेयक पास गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ ।

असार २९ गते प्रधानमन्त्री नियुक्त हुनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *