संखुवासभा सामूहिक हत्या आरोपमा थप चार जना सार्वजनिक

४ असोज २०७८ काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेका थप चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
हत्यामा थप चार जना व्यक्तिको संलग्नता देखिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा यसअघि नै पक्राउ परेका लोकबहादुर कार्कीका बुबा रणबहादुर, भाइ नरेश, काका खड्गबहादुर र उनका छोरा हस्तबहादुर छन् ।
संखुवासभा प्रहरीका मिडिया समन्वय अधिकृत सुभेश अधिकारीले खड्गबहादुर हत्याका मुख्य योजनाकार रहेको अनुसन्धानबाट देखिएको जानकारी दिनुभयो ।
प्रहरीले यसअघि लोकबहादुर कार्कीले मात्रै ६ जनाको हत्या गरेको भनेको थियो । तर थप अनुसन्धान गर्ने क्रममा अन्य चार जनाको संलग्नता देखिएको प्रहरीले दाबी गरेको छ ।
संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले केहीको संलग्नता र केही मतियारको रुपमा देखिएपछि पक्राउ गरिएको जानकारी दिनुभयो ।
भदौ २१ गते संखुवासभाको मादी नगरपालिका–१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्या भएको थियो । घटनामा संलग्न रहेको आरोपमा लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो ।
प्रतिक्रिया