अमेरिकाले एमसीसीविरुद्धका आलोचनाको पनि समर्थन र स्वागत गर्ने

२२ भदौ २०७८ काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसीं) विरुद्धका आलोचनाको पनि समर्थन र स्वागत गर्ने बताएको छ।
दूतावासले एक ट्वीट गर्दै तथ्यमा आधारित भएर आफ्ना धारणा र शान्तिपूर्वक विचार राख्नु लोकतन्त्रको मर्म रहेको जनाएको छ। दूतावासले कसैले पनि शान्तिपूर्ण रुपमा आफ्नो धारणा राख्न पाउने प्रजातन्त्रको मूलभूत तत्व भएको जनाएको छ ।
नेपाल सरकारले एमसीसी लगायत विषयमा भइरहेको टिप्पणीलाई रोक्ने गरी गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिको आलोचना भइरहेको समयमा दूतावसले यस्तो धारणा सार्वजनिक गरेको हो ।
नेपालमा विद्युत तथा सडक परियोना सञ्चालन गर्ने विषयमा अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता अनुमोदनको विषयमा संसद्मा विचाराधीन रहेको छ ।
५० करोड अमेरिकी डलर सहयोगको एमसीसी अनुमोदन गर्ने विषयमा जनमत विभाजित रहेको छ । प्रधानमन्त्री देउवा भोलिदेखि शुरु हुने संसद्को अधिवेशनबाट एमसीसी पारित गराउने पक्षमा हुनुहुन्छ ।
सत्ता गठबन्धनका अन्य दलहरु भने संशोधनबिना पारित गर्न नहुने पक्षमा छन् । सरकारमा हुँदा अनुमोदनको पक्षमा रहेको प्रमुख प्रतिपक्षी दल एमालेले भने सरकारलाई एमसीसीको विषयमा धारणा माग गरेको छ ।
दूतावासले गरेको ट्वीटमा अमेरिका नेपाल र नेपाली जनतालाई दशकौंदेखि साझेदार रहेको र दीर्घकालीन समृद्धिका लागि सधैं सहयोग गर्दै आएको पनि उल्लेख छ ।
प्रतिक्रिया