Political Hightlights

दल दर्ताका लागि नेपाल र ठाकुर पक्षका नेताहरुको निर्वाचन आयोगमा सनाखत हुँदै

हिमालय टिभी
२०७८ भदौ ९ गते १३:१९
दल दर्ताका लागि नेपाल र ठाकुर पक्षका नेताहरुको निर्वाचन आयोगमा सनाखत हुँदै

९ भदौ २०७८ काठमाडौं । नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निवेदन दिएका नेकपा एमालेका नेताहरुको निर्वाचन आयोगमा सनाखत भइरहेको छ ।

सनाखतका लागि प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु निर्वाचन आयोगमा पुगेका हुन् । आयोगले सनाखतका लागि बिहान साढे ११ बजेदेखि २ बजेसम्म समय तोकेको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत चाहिन्छ । नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएका नेताहरुले केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याउन खोजेका छन् ।

दल दर्ताका लागि निवेदन दिँदा एमालेको २०३ सदस्यीय कमिटीका ५७ जनाले हस्ताक्षर गरेका थिए । नेपालको प्रस्तावित दलमा पुरानो दल एमालेबाट ५७ जना केन्द्रीय सदस्यको नाम बुझाइएको छ ।

त्यसमध्ये ५५ जनाले मात्रै हस्ताक्षर गरेका छन् । अध्यादेशअनुसार एमालेको केन्द्रीय कमिटीको कुल २ सय ३ संख्यामध्येको २० प्रतिशत अर्थात् ४१ जना जना सदस्य नयाँ दल खोल्न नेपाल समूहले आयोगमा पुर्याउनुपर्ने हुन्छ ।

यस्तै, नयाँ थपसहित नेपालले नेतृत्व गर्ने दलमा १ सय १५ जना केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ । यस अघि तटस्थ बस्नुभएका प्रदिप नेपाल पनि सनाखतका लागि निर्वाचन आयोग पुग्नुभएको छ ।

यस्तै नयाँ दल दर्ता प्रक्रियाका लागि सनाखत गर्न प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।

दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरिएका नाममा सनाखत गर्न महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् । निर्वाचन आयोगले सनाखतका लागि आज दिउँसो २ बजेसम्मको समय दिएको छ ।

सनाखतपछि दल दर्ता प्रक्रिया टुंगो लगाइने निर्वाचन आयोगले जनाएको छ । प्रस्तावित लोसपाका अध्यक्ष ठाकुरले ३१ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाउनुभएको छ । जसमध्ये २९ जनाको हस्ताक्षर छ ।

आयोगले निवेदनमा हस्ताक्षर गर्नेलाई मात्रै सनाखत गर्ने जनाएको छ । ठाकुर अध्यक्ष रहनेगरी दर्ता गरिएको दलमा राजेन्द्र महतो र शरतसिंह भण्डारीलाई वरिष्ठ नेताका लागि प्रस्ताव गरिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको संशोधनअनुसार निर्वाचन आयोगले गत बिहीबार नियमावली संशोधन गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्