प्रचण्डले नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा समस्या पूर्वमुख्यमन्त्री पोखरेलको दाबी (भिडियो रिपोर्टसहित)
३० साउन २०७८ दाङ । नेकपा एमालेका नेता एवं पूर्वमुख्यमन्त्री शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण अहिलेको राजनीतिक अस्थिरता आएको आरोप लगाउनुभएको छ ।
दाङमा आज आयोजित कार्यक्रममा नेता पोखरेलले आफुहरुले नेता मानेका प्रचण्डले युद्धकालकै नीति अनुसार माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने प्रयास गरेपछि पार्टीमा समस्या आएको दाबी गर्नुभयो ।
अहिलेको सरकार अदालतको परमादेशबाट बनेको भन्दै यसले काम गर्न नसक्ने पनि पोखरेलले दाबी गर्नुभयो ।
दाङको घोराहीमा सहिद नेत्रलाल अभागीको शालिक अनावरणपछि उहाँले सरकार जनमतबाट नभएर अदालतबाट बनेको जिकिर पनि गर्नुभयो । अदालतले सरकार बनाउनु संसदीय लोकतन्त्रकै मजाक भएको उहाँको टिप्पणी छ ।
लोकतन्त्रमा जनमतबाट या संसदबाट मात्रै सरकार बन्न सक्ने बताएका नेता पोखरेलले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई १ सय ६५ सांसदले समर्थन गरेको प्रसंग भने उल्लेख गर्नुभएन ।
उहाँले देउवाले सरकार चलाउन नसकेर छिट्टै चुनाव घोषणा गर्ने दाबी पनि गर्नुभयो । घोराही उपमहानगरपालिका वडा नम्वर १५ मा प्रदेश सरकारको १५ लाख लागतमा अभागीको शालिक बनाइएको हो ।
प्रतिक्रिया