Political Hightlights

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावको छिटोफाना आज हुँदै

हिमालय टिभी
२०७८ साउन २७ गते ७:३९
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावको छिटोफाना आज हुँदै

२७ साउन २०७८ बुटवल । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज बस्दैछ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिउँसो १ बजे प्रदेशसभा भवन बुटवलमा बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ। विपक्षी दलहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १८ गते प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका छन्।

अविश्वासको प्रस्तावपछिको कदमबारे छलफल गर्न नेकपा एमाले लुम्बिनी प्रदेशले संसदीय दलको बैठक बस्दैछ । बिहान ८ मुख्यमन्त्री निवासमा संसदीय दलको बैठक बोलाइएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

प्रदेश सभा सचिवालयमा मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल गर्न बैठक बोलाएको उहाँको भनाइ छ । दलको बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने वा राजीनामा दिने भन्ने टुंगो लगाउने चौधरीको भनाइ छ।

एमालेले अविश्वासको प्रस्ताव दर्ता र सदनको विशेष अधिवेशन आह्वान संविधानविपरीत आएको भन्दै सदन बहिस्कार गर्ने सम्भावना पनि छ। विपक्षी गठबन्धनले प्रदेशसभा सदस्यलाई होटलमै राखेका छन्।

सोमबार कपिलवस्तुको राजापानी रिसोर्टमा राखेका प्रदेशसभा ४१ जना सांसदलाई हिजो लुम्बिनीको लुम्बिनी बुद्ध गार्डेनमा सारिएको छ। विशेष अधिवेशनका लागि तयारी एवं छलफल गर्न पायक पर्ने र प्रदेशसभा सदस्यहरु लुम्बिनी क्षेत्रमा भ्रमण गर्न पनि मिल्ने भएकाले सबै सदस्य लुम्बिनीमा राखिएको विपक्षी गठबन्धनका नेता एवं पूर्वमन्त्री सुदर्शन बरालले जानकारी दिनुभयो ।

विपक्षी गठबन्धनले आज नै सबै टुंग्याउने तयारी गरेको छ। सत्ता पक्ष भने सर्वोच्चको आदेश नआएपछि अलमलमा परेको छ। विशेष अधिवेशन फिर्ताको माग गर्दै आइतबार अधिवक्ता गणेश घिमिरेले दायर गरेको रिट निवेदनमा हकदैय्या नपुगेको भन्दै दरपीठ भएपछि प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री लीला गिरीले सोमबार सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।

रिटको सुनुवाइ मंगलबारका लागि तोकिएपनि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा सुनुवाइ हुन सकेन। ८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्य मात्र छन्।

बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ। विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन्। सत्ता पक्षमा एमालेका ३८ जना मात्र छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्