निर्वाचन आयोगद्वारा ४१ वटा राजनीतिक दलको दर्ता खारेज
१९ साउन २०७८ काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ ।
आयोगको आज बसेको बैठकले भोलिदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आयोगले दर्ता खारेज गरेको राजनीतिक दलहरुमा राष्ट्रिय जनएकता पार्टी, नागरिक समाजवादी पार्टी, राष्ट्रिय चुरेभावर पार्टी, राष्ट्रिय शिवसेना पार्टी लगायतका रहेका छन्। श्रेष्ठले अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको बताउनुभयो ।
आयोगले तोकिएको जरिवाना सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई लेखी पठाएको छ । जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न नपाउने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
आयोगले दर्ता खारेज भएका दलका केन्द्रीय पदाधिकारी, सदस्यहरुको नामसहितको विवरण पनि सार्वजनिक गरेको छ ।
प्रतिक्रिया