Political Hightlights

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

हिमालय टिभी
२०७८ साउन १९ गते १६:४९
लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

१९ साउन २०७८ रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।

विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदले हस्ताक्षर गरेर प्रदेशसभामा आज अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।

संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखसँग आग्रह गरेको भोलिपल्टै अविश्वास प्रस्ताव ल्याइएको हो । प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ ।

विपक्षी गठवन्धनले यस अघि पनि प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गर्दा केसीलाई नै मुख्यमन्त्री प्रस्ताव गरेको थियो । तर अघिल्लो पटक प्रस्ताव निर्णयार्थ पेश हुनुअघि मुख्यमन्त्री पोखरेलले संसद अघिवेशन अन्त्य गरी राजिनामा दिनुभएको थियो ।

प्रस्ताव छल्न राजीनामा दिए पनि तत्कालिन प्रदेश प्रमुखसँगको मिलेमतोमा उहाँले पुनः मुख्यमन्त्रीको सपथ लिनुभएको थियो ।

दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गरेपछि विपक्षी दलले त्यसमा छलफलका लागि प्रदेशसभाको विशेष अधिवेशन बोलाउन पनि माग गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर विपक्षी दलले विशेष अधिवेशनका लागि निवेदन दिएका हुन् । लुम्विनी प्रदेशसभामा अहिले ८० सदस्य छन् ।

ति मध्ये मुख्यमन्त्री पोखरेलको पक्षमा उहाँको दल नेकपा एमालेका ३८ जना सांसद मात्रै छन् ।

यसअघि माओवादी केन्द्रमा प्रवेश गरेकी सांसद विमला खत्री वलीले आफु एमालेमै फर्किएको भन्दै हिजो विज्ञप्ति निकाल्नुभएको थियो । तर विपक्षी दलले भने वलीलाई अपहरण गरेर जवर्जस्ती विज्ञप्ति निकाल्न लगाइएको दाबी गरेका छन् ।

माओवादीले यदि उहाँ एमालेमा प्रवेश गरे कारवाही गरेर सांसद पदबाट हटाउने जनाएको छ । प्रदेशसभामा सांसद वली र सभामुखवाहेक विपक्षी गठबन्धनमा ४० सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्