माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच भेटवार्ता
१९ साउन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेपालसँग भेटवार्ताको तयारी गरेका बेला प्रचण्डले पनि भेटघाट गर्नु भएको हो ।
प्रचण्ड र नेपाल दुवैको सचिवालयले बिहान भेटवार्ता भएको पुष्टि गरे पनि भेटेको स्थान भने खुलाउन चाहेका छैनन् । तर माधव नेपालको निवास कोटेश्वर नजिकैको एक घरमा उहाँहरुबीच भेटवार्ता भएको बुझिएको छ ।
समसामयिक राजनीतिका साथै सरकारमा सहभागिताको विषयमा दुई नेताबीच मात्रै भेटवार्ता हो । सत्ता साझेदार दलहरुले एमालेको नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेका बेला प्रचण्डले नेता नेपाललाई भेट्नु भएको हो ।
सकेसम्म नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । शुरुका छलफलहरुमा नेपालले सरकारमा सहभागी हुने बचन दिए पनि पछिल्ला दिनहरुमा आन्तरिक एकताको प्रयास भइरहेकाले सरकारमा नजाने बताउने गर्नु भएको छ ।
यसैबीच आन्तरिक एकताको प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ताको तयारी भइरहेको छ ।
स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन ।
विघटित कार्यदलका सदस्यहरुको नियमित अनौपचारिक संवाद र पहलका कारण दुई नेता भेटवार्ताका लागि तयार भएका हुन् । साँझसम्म अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुन सक्ने बताइएको छ ।
प्रतिक्रिया