प्रधानमन्त्री देउवाद्वारा अमेरिकासँग थप खोप सहयोगका लागि आग्रह
१३ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग कोभिड–१९ विरुद्धको थप खोप सहयोग गर्न आग्रह गर्नु भएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग टेलिफोनमा कुराकानी गर्दै देउवाले खोप सहयोग गर्न आग्रह गर्नु भएको हो ।
भारतको दुईदिने भ्रमणका क्रममा रहेका ब्लिन्केनले नयाँदिल्लीबाट प्रधानमन्त्री देउवालाई फोन गरेका थिए । फोनमा कोभिड–१९ विरुद्धको खोपको सहकार्य र स्वास्थ्य सामग्री सहयोगका विषयमा कुराकानी भएको थियो ।
संवादमा प्रधानमन्त्री देउवाले खोप कूटनीतिमा जोड दिएको प्रधानमन्त्री देउवाका प्रेस सहयोगी गोविन्द्र परियारले जानकारी दिनुभयो । परराष्ट्र मन्त्रालयले भने देउवाले अमेरिकी सरकारसँग बालबालिका र किशोरकिशोरीका लागि आवश्यक खोप सहयोगका लागि आग्रह गरेका जनाइएको छ ।
कुराकानीका क्रममा प्रधानमन्त्री र विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा पनि छलफल भएको छ ।
त्यसका साथै उहाँहरुबीच नेपालको विकासका प्राथमिकता, अमेरिकाको सहकार्य र मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका विषयमा पनि कुराकानी भएको बुझिएको छ ।
प्रधानमन्त्री देउवा र विदेशमन्त्री ब्लिन्केनले जलवायु परिवर्तन र यसको असरका विषयमा समेत कुराकानी भएको थियो ।
प्रतिक्रिया