Political Hightlights

जसपा आधिकारिकता विवाद आज टुंगो लगाउँदै निर्वाचन आयोग, यादव समूह बलियो

हिमालय टिभी
२०७८ साउन ११ गते ७:५६

११ साउन २०७८ काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिताबारे आज निर्णय गर्ने भएको छ ।

आयोगले निर्णय गर्नुपूर्व दुवै पक्षका कार्यकारिणी समितिका सदस्यलाई नागरिकता र मतदाता परिचय पत्रसहित उपस्थित हुन आग्रह गरेको छ । आयोगले जसपा विवाद समाधानका लागि कार्यकारिणी सदस्यको हेड काउन्ट गरी पार्टी आधिकारितासम्बन्धी निर्णय गर्ने भएको हो ।

निर्णयको सम्भावित परिदृश्यसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूहले छुट्टाछुट्टै बैठक राखी रणनीति तय गर्नमा जुटेका छन्। यादव पक्षले आइतबारदेखि नै आफूनिकट कार्यकारिणी समिति सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर प्रशिक्षण दिएको छ ।

संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राईलगायतले प्रशिक्षण दिनुभएको छ । हिजोको बैठक राति अवेरसम्म चलेकाले उनीहरूलाई रिसोर्टमै राखिएको र आज पुनः बैठक बसी सिधै निर्वाचन आयोग जाने तयारी गरिएको छ।

यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गरे पनि गोदावरीमा भने ३१ जना कार्यकारिणी सदस्य र २१ सांसदको उपस्थिति रहेको जनाइएको छ ।

यता ठाकुर पक्षले पनि आइतबार नै आफ्नो पक्षको बैठक राखेको थियो । बैठकमा आयोगको सम्भावित निर्णय तथा त्यसपछिको रणनीतिबारे छलफल भएको छ ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ। संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले आएर कमजोर भएको छ । कमजोर देखिएको ठाकुर पक्षले सर्वोच्चमा हेडकाउन्ट रोक्न अन्तरिम आदेश माग गरेकोमा अस्वीकार भएको छ।

यसअघि दुवै पक्षलाई मेलमिलापका लागि बोलाए पनि उनीहरू सहमत नभएपछि आयोगले इजलासबाट निरूपण प्रकृया अघि बढाएको थियो।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारलाई लिएर पार्टीको विवाद उत्कर्षमा पुगेपछि जसपाका अध्यक्ष यादवको समूहले पार्टीमा आधिकारिकता दाबी गरेको थियो। उसले आफूसँग बहुमत सदस्य रहेको दाबी गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्