Main News

सिन्धुपाल्चोक र मनाङ विपद् संकटग्रस्त क्षेत्र घोषित, भारतसँग सातामा ६ उडान हुने

हिमालय टिभी
२०७८ साउन ४ गते १८:४५
सिन्धुपाल्चोक र मनाङ विपद् संकटग्रस्त क्षेत्र घोषित, भारतसँग सातामा ६ उडान हुने

४ साउन २०७८ काठमाडौं । सरकारले गत महिनाको बाढी पहिरोबाट बढी प्रभावति सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले दुई जिल्लालाई असोज मसान्तसम्मका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

गत महिना आएको बाढीले मनाङ र सिन्धुपाल्चोकमा जनधनको ठूलो क्षति गरेको थियो ।

यस्तै बैठकले भारतसँग हप्तामा छ वटा उडान गर्ने निर्णय पनि गरेको छ ।

कोरोना महामारीका कारण यसअघि भारतमा एयर बबल अन्तर्गत हप्तामा नेपालको एक र भारतको एक गरी दुई वटा मात्र उडान हुने गरेको थियो । अब हप्तामा नेपाली विमान कम्पनीले ३ वटा र भारतीय कम्पनीले ३ वटा उडान गर्नेछन् ।

सरकारले खोप तथा अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै मित्रराष्ट्रहरुलाई धन्यवाद दिदैँ अनुदान वा खरिदमार्फत् थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा छिमेकी राष्ट्रसँग आव्हान गरिएको पनि प्रवक्ता कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकी लगायत सबै मित्र राष्ट्रहरुलाई नेपाल सरकारले हार्दिक धन्यवाद दिएको छ । साथै अनुदानमा वा खरिदबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्रराष्ट्रहरुलाई आव्हान गर्दछ ।’

मन्त्रीपरिषद् बैठकले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अबसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको पनि प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *