Main News

अमेरिकाद्वारा नेपाललाई १५ लाख मात्रा कोरोनाविरुद्धको खोप सहयोग

हिमालय टिभी
२०७८ असार २८ गते १२:५१
अमेरिकाद्वारा नेपाललाई १५ लाख मात्रा कोरोनाविरुद्धको खोप सहयोग

२८ असार २०७८ काठमाडौं । अमेरिकाले नेपाल सरकारलाई कोभिड – १९ विरुद्धको १५ लाखभन्दा बढी मात्रा खोप अनुदान सहयोग दिएको छ ।

अमेरिकाले अनुदान सहयोग दिएको १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप आज नेपाल आइपुगेको हो । नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्यक्रममा बिच स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई अमेरिकी सरकारले कोभ्याक्स सुविधाअन्तर्गत नेपाल सरकारलाई दिइएको जोन्सन एन्ड जोन्सन खोप हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री श्रेष्ठले अमेरिका सरकारले नेपाललाई दिएको खोप नेपाली जनताको जीवन रक्षाका लागि बरदानस्वरुप हुने बताउनुभयो । प्राप्त भएको खोप प्राथमिकताको आधारमा जोखिम समूहलाई दिनेगरी छिट्टै खोप अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘आज प्राप्त भएको खोप प्राथमिकताको आधारमा जोखिम समूहका व्यक्तिहरुलाई तथा ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई लगाउने गरी योजना बनाएका छौँ । यसका लागि स्वास्थ्य सेवा विभागको प्राविधिक टोली तयारीमा जुटेको छ । छिट्टै खोप अभियान सञ्चालन गरीनेछ ।’

मन्त्री श्रेष्ठले कोभिड – १९ संक्रमणको शुरुवाती चरणदेखि नै अमेरिकी सरकारले भेन्टिलेटर, परीक्षण किट, व्यक्तिगत सुरक्षा सामग्री लगायतको सहयोग गरेको भन्दै अमेरिकी सरकार, जनता र दूतावासप्रति आभार व्यक्त गर्नुभयो ।

खोप सहयोग हस्तान्तरण गर्दै नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले खोप अमेरिकी जनताको तर्फबाट उपहार स्वरुप दिएको बताउनुभयो । अमेरिकी सरकारले खोप कुनै काम लिन वा सुविधा पाउनका लागि नदिएको उहाँले स्पष्ट पार्नुभयो । नागरिकको जीवनरक्षाका लागि खोप सहयोग दिइएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यो अमेरिकी जनताको तर्फबाट उपहार हो । आज आइपुगेको एक मात्रा मात्र लगाए पुग्ने यो खोप नेपालको १५ लाखभन्दा बढी नागरिकहरुलाई कोभिड–१९ को घातक प्रभावबाट जोगाउनको निम्ति पर्याप्त हुनेछ । हामीले यो खोप कुनै काम लिन वा सुविधा पाउनका लागि दिएका होइनौँ । हाम्रो खोपमा कुनै स्वार्थ लुकेको छैन । हाम्रा शर्तह खुला र पारदर्शी छन् ः जीवनरक्षाको एक मात्र उद्देश्यसहित हामीले यो काम गरेका हौँ ।’

राजदूत बेरीले कोभिड–१९ को प्रतिकार्यका लागि अमेरिकी सरकारले नेपाल सरकारलाई हालसम्म ७ करोड डलर भन्दा बढी सहयोग गरिसकेको पनि उल्लेख गर्नुभयो ।

आगामी दिनमा पनि नेपाली जनताको जीवन रक्षाको लागि अमेरिकी सरकार साथमै रहेको उहाँले बताउनुभयो । प्राप्त भएको जोन्सन एन्ड जोन्सन खोप एक मात्रा मात्रै लगाए पुग्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *