निर्वाचन आयोगले जसपाका दुवै पक्षसँग आज छलफल गर्दै
२२ असार २०७८ काठमाडौं । निर्वाचन आयोगले आज जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षसँग छलफल गर्ने भएको छ ।
जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई छलफलका लागि आयोगले बिहान ११ बजे बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार दुवै पक्षलाई सहमतिको प्रयासका लागि छलफलमा बोलाइएको हो ।
जसपाका स्रोतका अनुसार अध्यक्ष ठाकुर पक्षबाट ठाकुरसहित लक्ष्मणलाल कर्ण, सुरेन्द्र झा, केशव झासहित दुई कानून व्यवसायी आयोग जाने तयारी भएको छ भने अर्का अध्यक्ष यादव पक्षबाट यादवसहित, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव र प्रकाश अधिकारी आयोग जाने तयारी गरिएको छ ।
जसपा अध्यक्ष यादव र ठाकुर दुवै पक्षले एकअर्कालाई यसअघि नै कारबाही गरेका छन् । यादवले ठाकुरसहितका ४ जना नेतालाई पार्टीबाट निष्काशन गर्नुभएको भने ठाकुरले पनि यादवलाई पार्टीबाट निष्कासन गरेको घोषणा यसअघि गर्नुभएको थियो ।
प्रतिक्रिया