Main News

प्रधानमन्त्री ओलीले न्यायालयलाई धम्क्याइरहेको अध्यक्ष प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १२ गते १८:५१
प्रधानमन्त्री ओलीले न्यायालयलाई धम्क्याइरहेको अध्यक्ष प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

१२ असार २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयलाई धम्काउने गरेको दाबी गर्नुभएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा आज विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले महान्यायधीवक्तामार्फत न्यायालयलाई धम्काउने र थर्काउने काम गरेको दाबी गर्नुभयो । अदालतको फैसला पहिले नै आफुलाई थाहा हुने गरेको भनेर जनतामा भ्रम छर्ने काम प्रधानमन्त्रीबाट भएको भन्दै उहाँले अहिले पनि आफुहरु न्यायालयले संविधान अनुसार नै फैसला गर्छ भन्नेमा विश्वस्त रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “केपी ओलीले धम्क्याउन थालेका छन् अदालतलाई । थर्काउन थालेका छन् । कहिले महान्यायधीवक्ताबाट, कहिले आफै । मेरो सेटिङमा नेपाल चलेको भए त । सर्वोच्चले संविधान र ऐन कानूनको व्यवस्था अनुसार फैसला गर्छ । लोकतन्त्रका मूल्य मान्यता अनुसार फैसला गर्छ । गर्नु पनि पर्छ । त्यसअनुसार गर्दा हेर्नुहोला केही दिनपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ भन्छु म । यो सेटिङबाट भनेको हो र मैले ? हेर्नुहोला त्यही हुन्छ भन्छु म । अनि भयो भनेदेखि लौ प्रचण्डले त पहिले नै भनेको थियो । त्यही भयो । यस्तो पनि हुन्छ र लोकतन्त्रमा राजनीतिक स्वतन्त्रतामा ? ”

आफुले भन्दै नभनेको कुरालाई बनाएर भन्ने र जनतामा भ्रम फिँजाउने काम प्रधानमन्त्री ओलीले गरेको दाबी अध्यक्ष प्रचण्डले गर्नुभयो । उहाँले कामचलाउ प्रधानमन्त्रीलाई मन्त्रिमण्डल विस्तार गर्ने अधिकार संविधानले नै दिएको छैन भन्ने आफ्नो अभिव्यक्तिलाई प्रधानमन्त्री ओलीले अदालतको फैसला पहिले नै जानकारी पाएको भनेर गलत प्रचार गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “संविधानको मर्म र भावना, ऐन कानूनको व्यवस्था अनुसार केपी पहिले नै कामचलाउ भइसकेका हुन् । कामचलाउले मन्त्रिमण्डल गठन गर्ने नियुक्ति गर्ने प्रचलन नै छैन । मैले बुझेसम्म अदालतले यी मन्त्रीलाई अबैध भन्छ भनेको थिएँ ।”

गठबन्धनको भविश्य बारे पत्रकारको जिज्ञासामा उहाँले आफु पहिलेदेखि नै प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्दै लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन निर्माण भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “हामीले मुद्दामा आधारित भएर यो गठबन्धन निर्माण गरेको हो । यो कुनै स्वार्थबस गरिएको होइन । यो पटक हाम्रो लडाई प्रधानमन्त्रीको पदको होइन । यो पटक हामी कोही पनि प्रधानमान्त्री हुन पाए सरकार छिटो बनाउन पाए भन्नेबाट प्रेरित होइन । बल्लबल्ल संविधानसभाबाट संघीय लोकतान्त्रिक संविधान बन्यो । अहिले संविधानमाथि निरंकुश र निर्मम किसिमले प्रहार भइरहेको छ र देशलाई अराजकतको भूमरीमा हाल्ने दुश्प्रयाास भइरहेको देखियो । छ्याङ्ग देखियो त्यसबाट यो संविधानको रक्षा गर्नैपर्छ नत्र बरबाद हुन्छ यो देश, जनताको जीवन भविश्य वरबाद हुन्छ भन्ने चिन्ताका साथ हामी लागिरहेका छौ । संसद विघटन गर्ने उपक्रम शुरु भएपछि संविधानको रक्षा गरिएन भने देश नै अप्ठ्यारोमा जानेछ भन्ने चिन्ताले हो । हामीले ५ पूर्व प्रधानमन्त्रीले जो बक्तव्य दिएका छौ । बुझ्नेलाई इशारा काफी छ । धेरै चिज छ त्यो भित्र । ”

अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्तामाथि प्रहार भएको हुनाले राष्ट्रिय स्वाधिनताको, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि गठबन्धन बनाएर सरकारका प्रतिगामी कदमविरुद्ध उत्रिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “अहिले केपीजीले लोकतान्त्रिक मूल्य मान्यतामाथि यति निरंकुश प्रहार, बडो नघ्न किसिमको प्रहार भइरहेको हुनाले पनि लोकतान्त्रिक मूल्य मान्यता र सिद्धान्त रक्षाका लागि गठबन्धन आवश्यक भयो । कुर्सीको लोभ भएर होइन । हामी कुर्सी छोडेर देशहितमा लाग्ने मान्छे हौ । ”

केपी ओली प्रधानमन्त्री भएपछिको पहिलो बजेट नै पार्टीको घोषणापत्रमा उल्लेख भएका विषयविरुद्ध आएको उल्लेख गर्दै ओलीका क्रियाकलापको आफुहरुले विगतदेखि नै भित्रभित्रै विरोध गर्दै आएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले गोहीको आँसु चुहाएर मान्छेलाई भ्रम छर्ने र दिउँसै रात पार्ने काम गरेको आरोप अध्यक्ष प्रचण्डले लगाउनुभयो । उहाँले पार्टी एकताका लागि गरेको सहमतिमा हस्ताक्षर गरेर सहमति नमानेर प्रधानमन्त्री ओलीले आफुलाई धोका दिएको दाबी गर्नुभयो । अदालतको फैसलापछि पार्टी एकताका लागि कुनै पनि पहल कदमी नगरेका प्रधानमन्त्री ओलीले चासो नदेखाएको भनेर आफुलाई आरोप लगाउनु झुट र बेइमानीको पराकाष्ट भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “हामीले नगरेको होइन । हामीले भित्रभित्रै विरोध गरेकै हो । रोक्ने कोशिस गर्यौ तर प्रधानमन्त्रीले कहिलेही पनि छलफल गराउनुभएन । गोहीको आँसु चुहाएर मान्छेलाई भ्रम दिने, लाजैमर्दो छ भन्यो भने । दिउँसै रात पार्ने यो भन्दा नाङ्गो झुटो कुनै सक्क्तैन । दुई महिनासम्म उहाँको कुनै फोन छैन । यति झुट बोल्न सक्ने प्रधानमन्त्री भएपछि । यो त नेपालका लागि बिडम्बना भयो । यो झुट बेइमानीको पराकाष्ठा हो । ”

अध्यक्ष प्रचण्डले ५ वटै दलबीच लोकतन्त्र र संविधान बचाउने सन्दर्भमा छलफल चलिरहेको भन्दै उहाँले सरकारको प्रतिगामी कदमविरुद्धका कार्यक्रमहरु तय गर्ने क्रममा रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *