जब राहत लिएर गायक राजु लामा हेलम्बू पुगे, स्थानीय यसरी भक्कानिए (भिडियो रिपोर्टसहित)

५ असार २०७८ हेलम्बू । मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकमा धेरै नै विनाश गरेको छ । अहिलेसम्म मेलम्ची बजार आसपासका क्षेत्रमा भएको क्षतिको विवरण आइरहेको छ । तर मेलम्चीभन्दा माथिल्लो क्षेत्र हेलम्बूमा त्योभन्दा धेरै क्षति पुगेको छ ।
यो सिन्धुपाल्चोकको हेलम्बू बजारमा रहेको इलाका प्रहरी कार्यालयको भवन । तीन करोड १७ लाख ६९ हजार रुपैयाँको लागतमा ५ महिनाअघि निर्माण पूरा भएको यो भवन मेलम्ची खोलामा शुक्रबार राति आएको बाढीले भत्कायो ।
गत मंगलबारको बाढीले जमिन कटान थालेको थियो । शुक्रबार राति मेलम्चीमा फेरि बाढी बढ्यो र भवन हेर्दाहेर्दै ढल्यो ।
खोला किनारभन्दा माथि रहेको प्रहरी चौकी भवनको त यो हालत भयो भने किनारमा रहेका अरु संरचना कस्तो भयो होला हामी कल्पना पनि गर्न सक्दैनौँ । हेलम्बू जोड्ने मेलम्ची खोलामाथिको यो रातो पुल बाढीकै कारण खतरामा परेको छ ।
मेलम्चीबाट जति माथि उक्लियो त्यति नै विनाशका दृश्य पनि बाक्लिँदै जान्छन् ।
यो खोला किनारमा बनेको सडकको अस्तित्व समेत छैन । कटान नगरेको ठाउँमा सडक देखिए पनि त्यो सडकको फेद टुप्पो कतै देखिँदैन ।
खोलाभन्दा निक्कै माथि डाँडामा रहेका विद्यालय भवन कटानका कारण पहिरोमा परेका छन् । उब्जाउ जमिन खोलाले कटान गरेको छ ।
चिउरेखर्क, चालिसे, तल्लो टिम्बू बजार र गणेश बगरको बस्ती मेलम्चीले बगर बनाएको छ । तालामाराङ, चनौटे, किउल, तिम्बूका बजारको हालत पनि उस्तै छ । पर्यटकीय गाउँ हेलम्बू यतिबेला उजाड बगर बनेको छ ।
बाढीले बिजुलीका पोल बगाएका कारण गाउँमा बिजुली छैन । मोबाइलमा पनि चार्ज सकिएकाले सञ्चारबाटसमेत हेलम्बुका बासिन्दा बञ्चित भएका छन् ।
सडकमार्ग अवरुद्ध भएका कारण बाढी प्रभावितहरुका लागि हेलम्बूमा राहत पुग्न सकेको छैन । केहीले हेलिकोप्टरमा राहत लगेका छन् । राहत लिएर गएका गायक राजु लामासँग स्थानीयबासिन्दा भक्कानिएको यो दृश्यले उनीहरुको स्थिति बुझाउँछ ।
प्रतिक्रिया