Main News

संचारमाध्यमप्रति अनुदार विधेयक फिर्ता लिन माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ४ गते २०:४२
संचारमाध्यमप्रति अनुदार विधेयक फिर्ता लिन माग (भिडियो रिपोर्टसहित)

४ असार २०७८ काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सञ्चार माध्यमको नियमनका लागि भन्दै विधेयक मस्यौदा तयार पारेको छ । सञ्‍चार माध्यम सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा दण्ड जरिवानामा बढी जोड दिइएको छ ।

मन्त्रिपरिषदबाट पारित भएर प्रदेश सभामा पठाइएको यो विधेयकका प्रावधानप्रति अहिले विरोध भइरहेको छ । संचारकर्मी र सरोकारवालाले विधेयक तत्काल फिर्ता गर्न माग गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारले तयार पारेको विधेयकमा रहेका कैयौं प्रावधानले संचार क्षेत्रको स्वतन्त्रता हनन हुने भन्दै चर्को विरोध भइरहेको छ । विधेयकमा मिडिया काउन्सिलले संचार माध्यमको दर्ता नवीकरण बन्द गर्नसक्ने, मिडिया सञ्चालक र पत्रकारलाई ६ महिनादेखि १ वर्षसम्म कैद गर्न सक्ने जस्ता व्यवस्था छन् ।

यस्तो व्यवस्थाले सञ्चार माध्यम भजन मण्डलीका रुपमा विकास हुने भन्दै विरोध भइरहेको छ । पत्रकार महासंघले पनि आन्तरिक मामिला तथा कानून मन्त्री चेत नारायण आर्चायलाई ज्ञापनपत्र बुझाउँदै विधेयक फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

विधेयकमा सरकारी सूचना निःशुल्क प्रशारण गर्नुपर्ने, राज्यले बन्देज गरेका विषयमा समाचार प्रकाशन र प्रशारण गरे संचार माध्यम बन्द गर्न सकिने पनि उल्लेख छ । विधेयक संघीय कानूनसँग पनि बाझिने भन्दै पत्रकारले तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् ।

प्रदेश संचार परिषद् स्थापना गर्ने प्रावधानमा पनि पत्रकारले प्रश्न उठाएका छन् । मिडिया काउिन्सलको अध्यक्षका रूपमा मन्त्रीलाई राखिएको छ । सदस्य पनि अधिकांश मन्त्रालयका सचिव रहने व्यवस्था गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री आचार्य संघीय कानुनसँग बाझिने गरी विधेयक पारित नहुने बताउनुहुन्छ ।

लुम्बिनी प्रदेश सरकारले छोटो समयमा नै धेरै विधेयक बनाएको दाबी गर्दै आएको छ । तर सरोकारवालासँग भने छलफल गर्ने गरिएको छैन । जसका कारण विवाद सृजना हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *