Main News

विश्वासको मत दिन गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको आग्रह

हिमालय टिभी
२०७८ असार ४ गते १३:०५
विश्वासको मत दिन गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको आग्रह

४ असार २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसँग आग्रह गर्नुभएको छ ।

प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पोखरेलले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिएर स्थायित्वमा जाने एकमात्र विकल्प रहेको बताउनु भयो ।

उहाँले बीचमा संसदलाई विघटनतिर नलैजानका लागि यो सरकारलाई समर्थन गर्नुको विकल्प संवैधानिक रुपमा पनि नरहेको प्रस्ट पार्नुभयो ।

मुख्यमन्त्री पोखरेलले सरकार गठन भएको एक हप्ता पनि नपुगेको स्मरण गराउँदै यसबीचमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गरेको र आगामी आर्थिक वर्षको बजेट ल्याएको चर्चा गर्नुभयो ।

उहाँले नीति तथा कार्यक्रम र बजेटमा प्रदेशका नागरिकलाई कोरोनाविरुद्धको खोप र स्वास्थ्यसम्बन्धी स्रोत साधन उपलब्ध गराउने बाचा गरेको पनि स्मरण गर्नुभयो ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले आज प्रदेशसभा बैठकमा प्रस्ताव पेस गर्नुभएको हो ।

गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पोखरेल मुख्यमन्त्री नियुक्त हुनुभएको हो । नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेललाई, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र दीपक मनाङेसहित ३१ जना सांसदले समर्थन गरेका छन् ।

पोखरेलले विश्वासको मत पाउन नसके संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा भंग गरी ६ महिनाभित्र चुनाव गराउनु पर्नेहुन्छ ।

मुख्यमन्त्रीलाई विश्वासको मत पाउन ३० सांसदको मत आवश्यक पर्छ । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई सांसद पदबाट हटाएपछि प्रदेशसभामा अहिले ५९ सांंसद छन् ।

विश्वासको मत पाएपछि मन्त्री परिषद् विस्तार गर्ने मुख्यमन्त्रि पोखरेलको तयारी छ । हाल गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रि सहित ४ मन्त्री सहभागि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *