Political Hightlights

जसपाका दुबै पक्षले गरेको कारवाही निर्वाचन आयोगद्वारा अस्वीकार, विधानसम्मत नभएको ठहर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३० गते १८:५१

३० जेठ २०७८ काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षले गरेको कारबाहीको अभिलेखीकरण गर्न अस्वीकार गरेको छ ।

आज बसेको आयोगको बैठकले जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव नै रहेको कमिटी कायम रहने निर्णय गरेको हो । आयोगले एक अर्कालाई कारबाही गरेको निर्णय पार्टीको विधानसम्मत नदेखिएको निष्कर्ष निकालेको हो ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न माग गरिए पनि विषय कारवाहीको रहेकाले त्यसो गर्न नमिल्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आयोगले अध्यक्षलाई हटाउँदा माथिल्लो कमिटीले पारित गर्नुपर्ने भए पनि त्यस अनुसार नभएकाले विधान अनुसार नभएको ठहर गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ अनुसार आए मात्रै विवाद अघि बढाउन सकिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई र यादव पक्षले महन्थसहित नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई कारबाही गरेपछि जसपाको विवाद निर्वाचन आयोगसम्म पुगेको थियो ।

दुवै पक्षले जेठ १८ गते नै पार्टीको दर्ता किताबमा नाम अध्यावधिक गर्न राजनीतिक दलको दफा ५१ अनुसार आयोगलाई पत्राचार गरेका थिए । आयोगले भोलिपल्टै अनुसूचीअनुसार सात दिनभित्र आउन भन्दै दुवै पक्षलाई पत्र पठाएको थियो ।

उनीहरूले पार्टीको लेटरप्याडमा निवेदन लेखेको र विवरण पूर्ण नभएको भन्दै आयोगले अनुसूचीअनुसार आउन पत्राचार गरेको थियो । पत्रअनुसार जसपाको यादव पक्षले भने आयोगलाई जेठ २० गते नै अनुसूची अनुसारको विवरण पेश गरेको थियो ।

तर, ठाकुर पक्षले भने निर्धारित समयमा अनुसूची अनुसारको विवरण बुझाउन सकेन । ठाकुर पक्ष आफ्नो बहुमत नपुगेपछि नयाँ पार्टी दर्ता गर्ने तयारीमा लागेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्