Main News

वीरगञ्जमा असार १ गतेदेखि विद्यालय सञ्चालन गरिने

हिमालय टिभी
२०७८ जेठ २२ गते १३:२४
वीरगञ्जमा असार १ गतेदेखि विद्यालय सञ्चालन गरिने

२२ जेठ २०७८ पर्सा । वीरगञ्ज महानगरपालिकाले आगामी असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको छ ।

महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै ८ देखि १२ कक्षाको पठन पाठन सञ्चालन गर्न लागेको हो । बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिकरुपमा विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।

शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पत्राचार गर्दै असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गर्नुभएको छ ।

विद्यालय सञ्चालन गर्न ७ वटा शर्तहरु पालना गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ । विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्न विद्यार्थीहरुको अभिभावकहरुबाट लिखित सहमति लिने व्यवस्था गरिएको छ ।

साथै स्वास्थ्य सुरक्षाका मापदण्डहरु मास्क, साबुन, पानीले हात धुने व्यवस्था, सेनिटाइजर भौतिक दूरी, थर्मल गनले ज्वरो नाप्ने आदि अनिवार्य पालना गर्नु पर्नेछ ।

यस्तै, अर्को सूचना जारी नहुञ्जेल सवारी साधन सञ्चालन गर्न नपाइने, शिक्षण सिकाइका वैकल्पिक उपायहरु विद्यालय र अभिभावकबीच सहमति गरी लागू गर्ने लगायतका सर्त छन् ।

असार १ गतेदेखि ७ गतेसम्म भर्नालगायतका व्यवस्थापकीय कार्य गर्ने गराउने, असार ८ गतेदेखि १५ गतेसम्म भर्ना सप्ताह अन्तर्गत घरदैलो कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

वीरगञ्ज महानगरमा निजी र संस्थागत गरी २०० हाराहारीमा विद्यालय छन् । नगर प्रमुख विजयकुमार सरावगीले कोरोना संक्रमण घट्दै गएकोले विद्यालय सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *