चीन र अमेरिकाबाट ५०–५० लाख डोज खोप ल्याउने तयारी

१४ जेठ २०७८ काठमाडौं । सरकारले चीन र अमेरिकाबाट कोरोनाविरुद्धको खोप किन्ने प्रक्रिया अघि बढाएको छ ।
स्वास्थ्य पत्रकार मञ्चले खोपबारे गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले यो वर्षको अन्त्यसम्ममा लक्षित समूहलाई खोप दिनका लागि खरिद प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभएको हो ।
चीनको भेरोसिल र अमेरिकाको जोन्सन एण्ड जोन्सन खोप खरिदका लागि पत्राचार गरिसकेको उहाँले बताउनुभयो । चीन र अमेरिकाबाट ५०(५० लाख डोज खोप ल्याउने तयारी भइरहेको मन्त्री ज्ञवालीले बताउनुभयो ।
अबको १० दिनभित्र नेपाल ल्याइने ५० लाख डोज खोपको टुङ्गो लाग्ने परराष्ट्र मन्त्री ज्ञवालीको भनाइ छ । अहिले कोभिशिल्ड खोप लगाएकाले दोस्रो डोज लगाउन पाइरहेका छैनन् ।
कोभिशिल्डको उत्पादनकर्ता भारतको सेरम इन्स्टिच्युटले यो वर्षको अन्त्यसम्म कुनै पनि देशलाई खोप निर्यात नगर्ने घोषणा गरेको छ । तर पनि आफूहरुले १७ लाख डोज कोभिशिल्ड उपलव्ध गराउन भारतसँग आग्रह गरिरहेको मन्त्री ज्ञवालीले बताउनुभयो ।
विज्ञले कोरोना महामारीबाट जोगिनका लागि खोप नै प्रभावकारी रहेको भन्दै सबै नागरिकलाई खोप दिन सरकारलाई आग्रह गरिरहेका छन् ।
तर खोपको उत्पादन थोरै छ र विश्वभर नै खोपको माग भइरहेकाले नेपालजस्ता देशले सजिलै खोप पाउन सकेका छैनन् ।
प्रतिक्रिया