Main News

आज मदन–आश्रित स्मृति दिवस मनाइँदै

हिमालय टिभी
२०७८ जेठ ३ गते ७:३३
आज मदन–आश्रित स्मृति दिवस मनाइँदै

३ जेठ २०७८ काठमाडौं । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवस, आज मनाइँदैछ ।

जनताको बहुदलीय जनवादका प्रवर्तक मदन भण्डारी र नेता जीवराज आश्रितलाई आफ्नो आदर्श नेता मान्ने नेकपा एमाले लगायतले विभिन्न कार्यक्रम गरी स्मरण गर्दैछन् ।

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा मृत्यु भएको थियो । मदन पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति र मदनका समकालीन नेताले यतिबेला सत्ताको बागडोर सम्हालिरहेका छन् ।

तर, २७ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन । दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो थप रहस्मय बन्न पुगेको छ । विचारक तथा बोल्न सिपालु भएका कारणले चर्चित नेता भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) विकास गर्नुभएको थियो ।

मदन आश्रितको स्मृति दिवसको अवसर पारेर २०७५ साल आजकै दिन तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भइ
नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेको थियो ।

तर सर्वोच्चको आदेशपछि हाल नेकपा विघटन भइ नेकपा एमाले र माओवादी केन्द्र साविककै अवस्थामा पुगेपनि मदनले प्रतिपादन गरेको सिद्धान्तलाई आदर्श मान्ने एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा छ ।

पार्टी विवाद समाधानका लागि हिजो मात्रै दश सदस्यीय कार्यदल गठन गरिएको छ । यस्तोमा मदनको सिद्धान्त अनुसार अघि बढ्न सके मात्र एमाले एक ढिक्का रहन सक्ने नेता कार्यकर्ताले बताउने गरेका छन् ।

कोरोना महामारीका कारण आज औपचारिक कार्यक्रम नगरिए पनि एमाले सम्बद्ध विभिन्न संगठनहरुले भर्चुअल रुपमा सैद्धान्तिक बहसका कार्यक्रम राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *