Main News

अक्सिजन उद्योगहरुमा नियमित विद्युत आपुर्ति व्यवस्थापन गर्न प्राधिकरणलाई सीसीएमसीको निर्देशन

हिमालय टिभी
२०७८ वैशाख २८ गते १७:०८
अक्सिजन उद्योगहरुमा नियमित विद्युत आपुर्ति व्यवस्थापन गर्न प्राधिकरणलाई सीसीएमसीको निर्देशन

२८ वैशाख २०७८ काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्रले अक्सिजन उद्योगहरुमा नियमित विद्युत् आपुर्तिको व्यवस्थापन मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।

बजारमा अक्सिजनको आपुर्ति सहज हुन नसकेको विद्यमान अवस्थामा विद्युत् अभावमा उत्पादन नरोकियोस् भन्ने उद्देश्यले सीसीसएमसीले अक्सिजन उद्योगहरुमा २४ सै घण्टा विद्युत् आपुर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो । कोभिड–१९ संक्रमितको संख्या बढेसँगै अधिकांश बिरामीलाई उपचारका लागि अक्सिजन आवश्यक पर्ने र अक्सिजन अभावमा मृत्यु हुने घटना बढेपछि केन्द्रले अक्सिजनको वितरणलाई समानुपातिक र न्यायपूर्ण बनाउन मेडिकल अक्सिजन वितरण कार्यविधि २०७८ पनि ल्याएको छ ।

सोही कार्यविधि अनुसार अस्पतालहरुलाई अक्सिजन वितरण गर्ने काम भएको छ । बजारमा माग थेग्ने गरी अक्सिजन उत्पादन हुन नसकेपछि केन्द्रले अहिले ग्यास उद्योगहरुको अनुगमन शुरु गरिसकेको छ । सबै उद्योगमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सिंहदरबारमा आज बसेको सीसीएमसीको बैठकमा सचिव खगराज बरालले अक्सिजनको अवस्था र व्यवस्थापनका सम्बन्धमा भएका प्रयासबारे जानकारी गराउनुभएको थियो । उहाँले काठमाडौं उपत्यका र बनेपामा रहेका सबै ९ वटा ग्यास उद्योगहरुको अनुगमन गरी विवरण संकलन गरिएको, अक्सिजन उद्योगको क्षमता वृद्धि र मर्मत कार्यमा सहजीकरण र सहयोग गर्ने,उत्पादन, भण्डारण र वितरणको तथ्यांक अद्यावधिक गर्ने काम भएको बताउनुभयो । त्यसैगरी अस्पतालहरुलाई अक्सिजनको न्युनतम कोटा तोकिएको तथा खाली सिलिण्डरहरु संकलन गरेर उद्योगमा फिर्ता गर्ने प्रयास भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

सीसीएमसीले सबैलाई बाँचौ र बचाऔै भन्ने मूल आशयसहित अक्सिजनको आपूर्ति, ढुवानी, प्रयोग र उपयोगमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेको छ । सीसीएमसीले काठमाडौ उपत्यका र काभे्रेका उद्योगसमेतमा गरेर दैनिक ७ हजार २ सय सिलिण्डर उत्पादन रहेको बताएको छ ।

तर अक्सिजन उत्पादक संघले भने दैनिक ९ हजार सिलिण्डर उत्पादन हुने गरेको बताइसकेको छ । संघले तत्काल वैकल्पिक उपायबाट अक्सिजनको आपुर्ति सहज बनाउन भनिसकेको छ । उसले अस्पतालका लागि मात्रै ग्यास उपलब्ध गराउने सरकारको निर्णय व्यवहारीक नभएको भन्दै दीर्घरोगी र घरमै कोभिडको उपचार गराइरहेकाको लागि पनि अक्सिजनको व्यवस्था गर्न माग गरेको छ ।

उनीहरुका लागि अक्सिजनको व्यवस्थापन गर्न नसक्ने हो भने नागरिकस्तरबाट आउने दबाबलाई उद्योगले धान्न नसक्ने संघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *