संसदमा ओलीमाथि प्रचण्डले लगाए यस्ता गम्भीर आरोप
२७ वैशाख २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं ससदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता भंग हुनु र मुलुक राजनीतिक अस्थिरतातर्फ उन्मुख हुनुको मुख्य कारक प्रधानमन्त्री केपी शर्मा ओली भएको दाबी गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको विश्वासको मतको प्रस्तावको बारेमा बोल्दै अध्यक्ष प्रचण्डले सरकार गठन भएदेखिका सम्पूर्ण कार्य समीक्षा गर्दा अहिलेको अवस्था सिर्जना हुनुमा प्रधानमन्त्री ओली नै मुख्य जिम्मेबार रहेको बताउनुभएको हो ।
उहाँले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्रीलाई फेरि सदनमा आएर विश्वासको मत माग्ने कुनै अधिकार नरहेको दाबी गर्नुभयो । संसद पुनर्स्थापना भएकै दिन आफुले प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा राजीनमा दिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नु उपयुक्त हुन्छ भन्ने सुझाव दिएको स्मरण गर्दै उहाँले विश्वासको मत माग्नु भन्दा राजीनामा दिनु नै लोकतान्त्रिक हुने तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो “यो सदनले उहाँलाई व्श्विासको मत दिँदैन । यो प्रधानमन्त्रीले राम्रोसँग बुझ्नुभएको छ । बुझ्दाबुझ्दै पनि मत माग्नुभएको छ । तपाईले अहिले पनि राजीनामा दिएर नयाँ सरकार गठनको बाटो प्रशस्त गरिदिनु नै लोकतान्त्रिक मूल्य मान्यता संविधानको मर्म भावना अनुकुल हुन्छ भनेर म तपाईलाई सुझाव राख्न चाहन्छु ।
संविधानलाई कोरोना लाग्यो
उहाँले प्रधानमन्त्री ओलीले संविधान कार्यन्वयन गर्नुभन्दा त्यसलाई आक्रमण गर्ने काम गरेको भन्दै अहिले संविधान आईसीयुमा पुगेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो “संविधान पनि बडो नराम्रोसँग चिथोरिएको, कोपरिएको, संविधानलाई नै कोरोना लागेजस्तो । समाज त कोरोनाले आक्रान्त छँदैछ । खासगरी सरकारका गतिविधिले संविधानलाई पनि कोरोना लागेजस्तो । आईसीयुमा राखेको जस्तो अवस्थाबाट हामी गुज्रिनु परेको छ । ”
आलोपालो अध्यक्ष र प्रधानमन्त्रीको सहमति ओलीले तोडेको
अध्यक्ष प्रचण्डले राष्ट्रिय समस्याको मुल कारक नै प्रधानमन्त्री ओली रहेको दाबी गर्नुभयो । उहाँले पार्टी एकताको समयमा भएका सहमति सम्झौताहरुलाई प्रधानमन्त्री ओलीले उल्लंघन गरेर दंभ र अहंकारसहित संविधान मिच्ने काम गरी संविधान, लोकतान्त्रिक प्रणाली, कम्युनिष्ट एकता लगायतमा प्रहार गर्ने काम गरेको आरोप लगाउनुभयो । बामगठबन्धन र कम्युनिष्ट एकतासँगै राजनीतिक स्थायित्व, विकास र समृद्धिको एजेण्डालाई प्रधानमन्त्री ओलीले सुरुवाती दिनदेखि नै तुहाउने काम गरेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो “संविधानमा संकट, लोकतान्त्रिक प्रणालीमा समस्या, कम्युनिष्ट आन्दोलनमा संकट, एकताको महान र असाधारण पहल कदमीमा संकट मुख्य रुपमा कसको कारणले आयो प्रधानमन्त्री जी ? के तपाई छातीमा हात राखेर आत्मसमीक्षा गर्न तयार हुनुहुन्छ ? तपाईले कहिलेकाहीँ बोलेको सुन्छु म प्रचण्डलाई राष्ट्रिय समस्या नै भयो भनेर । म हो राष्ट्रिय समस्या कि तपाई हो राष्ट्रिय समस्या ? बहस गरौं । मैले संविधान बनाउने र तपाईलाई प्रधानमन्त्री प्रस्ताव गर्नुमा म राष्ट्रिय समस्या भएर हो ? वाम गठबन्धन र कम्युनिष्ट एकताको प्रस्ताव लिएर तपाईलाई फेरि प्रधानमन्त्री प्रस्ताव गर्ने म राष्ट्रिय समस्या भएर हो ? मैले तपाईसँग पार्टीभित्र बहस गर्दा कहिले, तपाईका कुन कार्यक्रमलाई मैले व्यवधान गरेँ ठोस रुपमा जवाफ दिन सक्नुहुन्छ ? तपाईसँग जवाफ छैन । तथ्य छैन । तपाईसँग आधिकारिक र प्रमाणिक तर्क पनि छैन । बरु यसको निम्ति तपाई नै जिम्मेबार हो । तपाईले बामगठबन्धन र कम्युनिष्ट एकताको पछाडिको राजनीतिक स्थायित्व, विकास र समृद्धिको हाम्रो सपनालाई डे वानदेखि नै तुहाउनेतिर लाग्नुभयो भन्ने मेरो आरोप छ तपाईमाथि । ”
अध्यक्ष प्रचण्डले पार्टी एकताको समयमा भएको आलोपालो नेतृत्व गर्ने सहमति पनि प्रधानमन्त्री ओलीले तोडेको खुलासा गर्नुभयो ।
उहाँले भन्नुभयो “हिजो हामीले गरेको सहमति समझदारी मैले तोडेको हो र प्रधानमन्त्री जी ? पालोपालो प्रधानमन्त्री । पालोपालो अध्यक्षको सहमति मैले तोडेँ ? त्यसो गरेको भए आज यो देश कहाँ हुन्थ्यो ? ”
अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक बहस र विवादलाई अघि सारेर सिंगो देश र जनतालाई आक्रान्त हुने गरी प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताउनुभयो । आफैले प्रतिनिधिसभा विघटन गरेर आफै फेरि सदनमा उभिएर विश्वासको मत माग्ने कुरा अस्वाभाविक भएको भन्दै उहाँले प्रधानमन्त्रीलाई मत माग्ने अधिकार नै नरहेको बताउनुभयो ।
उहाँले प्रश्न गर्नुभयो “तपाईलाई विश्वासको मत माग्ने पनि नैतिक अधिकार छ र ?”
अध्यक्ष प्रचण्डले विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदापाउँदै पनि संसदमा विश्वासको मत लिन आउदा प्रधानमन्त्रीको नियतमा शंका उब्जिएको बताउनुभयो । उहाँले फेरि संसद विघटनको बाटो बनाउनका लागि विश्वासको मत लिने काम गर्नुभएको त होइन भनी प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो ।
नाटक
अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिने काम नाटकीय लागेको टिप्पणी गर्नुभयो । नियमित अधिवेशन बस्नुपर्ने बेलामा विशेष अधिवेशन बोलाउँदा प्रधानमन्त्रीले लोकतान्त्रिक मूल्य मान्यतालाई छल्न खोजेको आशंका उब्जिएको टिप्पणी गर्नुभयो ।
उहाँले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीलाई पुनर्स्थापनापछि पनि फेरि विघटन गर्न सक्ने डरले समर्थन फिर्ता नगरेको स्पष्ट पार्नुभयो । उहाँले सरकारमा बसेपछि प्रधानमन्त्री ओलीमा दंभ, अहंकार बढेको र त्यही दंभ र अंहकारले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम गरेको टिप्पणी गर्नुभयो । दोश्रो लहर शुरु हुन लागिसकेको बेला प्रधानमन्त्रीले रथयात्रा, सभा र ठूला ठूला जुलुस लिएर हिँडेको उल्लेख गर्दै संक्रमण बढाउने कामको अरुलाई दोषारोपण गर्न नमिल्ने बताउनुभयो ।
उहाँले प्रधानमन्त्री ओलीबाहेक सबैलाई विश्वासको मतको विपक्षीमा भोट हाल्न आग्रह गर्दै भन्नुभयो “ आज पनि प्रधानमन्त्रीलाई संसद विघटन गरेको सही गरेँ भन्ने लागिरहेको छ । मौका पाएपछि फेरि विघटन गर्छुु भन्ने देख्छु म । आज तपाईले विश्वासको मत लिनु थियो भने हिजो तपाईले अध्यादेशमार्फत संवैधानिक परिषद्को बैठक किन गर्नु परेको थियो ? तपाईलाई भरोसा छैन । विश्वासको मत त मैले पाउने होइन त्यसैले कब्जा गर्न सक्ने ठाउँहरु कब्जा गरिहालुँ भन्ने मनसायले काम गर्नुभयो ।”
प्रतिक्रिया