Political Hightlights

प्रचण्डले भने–नेपालको कम्युनिष्ट आन्दोलनमा घोर प्रतिगामी प्रवृत्ति देखियो

हिमालय टिभी
२०७८ वैशाख ९ गते ९:४९
प्रचण्डले भने–नेपालको कम्युनिष्ट आन्दोलनमा घोर प्रतिगामी प्रवृत्ति देखियो

९ वैशाख २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको कम्युनिष्ट आन्दोलनमा घोर प्रतिगामी प्रवृत्ति देखा परेको टिप्पणी गर्नुभएको छ ।

लेनिनको जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिने बताउनुभयो ।

तत्कालिन सोभियत संघलाई एकताबद्ध गर्न लेनिनले खेलेको भूमिका नेपालको सन्दर्भमा प्रेरणाको स्रोत बन्न सक्ने प्रचण्डको बुझाइ छ ।

पार्टी स्थापना दिवस र लेनिन जयन्तीको अवसरमा उहाँले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिहरूलाई एकताबद्ध हुँदै प्रतिगमनका विरुद्धको अभियानमा लामबद्ध हुन अपील गर्नुभएको छ ।

यसैबीच आज नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवस, नेकपा एमालेले विभिन्न कार्यक्रम गरी मनाउँदैछ।

दिवसकै अवसर पारेर एमालेले आज बल्खुस्थित पार्टी कार्यालय शिलान्यास गर्ने भएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बन्ने पार्टी कार्यालयको शिलान्यास गर्ने तय भएको छ ।

२०७२ सालको भूकम्पले मदननगर बल्खुमा रहेको कार्यालय बस्न नमिल्ने भएपछि पार्टी कार्यालय धुम्बाराहीमा सारिएको थियो। धुम्बाराहीमा पनि सडक विस्तारका कारण समस्या आउने भएपछि एमालेले पार्टी कार्यालय अहिले थापाथलीमा सारेको छ।

आजै बिहान ११ बजे अध्यक्ष ओलीले थापाथली कार्यालयबाट औपचारिक कार्य शुरु गर्दै हुनुहुन्छ । सन् १९४९ अप्रिल २२ का दिन भारतको कोलकातामा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेपछि पार्टीको नाम नेकपा नामकरण गरिए पनि पछि ऋषि कट्टेलको पार्टीसँग नाम मिलेको भन्दै सर्वोच्च अदालतले पार्टी एकता खारेज गरिदिएपछि अहिले दुवै पार्टी पूर्ववत् अवस्थामा पुगेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्