Main News

कार्यसूचीमै प्रवेश नगरी प्रदेश १ को हिउँदे अधिवेशन यसरी भयो अन्त्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ५ गते १८:४२
कार्यसूचीमै प्रवेश नगरी प्रदेश १ को हिउँदे अधिवेशन यसरी भयो अन्त्य (भिडियो रिपोर्टसहित)

५ वैशाख २०७८ विराटनगर । प्रदेश १ को प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । माघ ७ गते शुरू भएको प्रदेशसभाको सातौं अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गर्नुभएको हो । विपक्षी दलको विरोध र सरकारी बेवास्ताका कारण एउटै विधेयक टेवलसमेत नभई प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ ।

गएको माघ ७ गते शुरु भएको प्रदेश १ को हिउँदे अधिवेशन २ घण्टा ३१ मिनेट चल्यो । आठ वटा बैठक बसेपनि कार्यव्यवस्था तथा परामर्श समितिको सल्लाहमा सभामुखले तय गरेको बैठक कार्यसूचिमै प्रवेश नगरी अधिवेशन सकियो ।

आइतबारको अन्तिम बैठक पनि प्रतिपक्ष दलले चल्न दिएनन् । प्रतिपक्षीको अबरोधकैबीच सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन अन्त्यको पत्र पढेर सुनाउनुभयो ।

स्वीकृत कार्यक्रम सञ्चालन गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र बहुवर्षे विकास आयोजना अघि बढाउनु पर्ने विपक्षीको माग थियो र आइतबार पनि यो विषय उठ्यो ।

बैठकको शुरूमै प्रतिपक्षले उठेर विरोध जनाएपछि सभामुखले प्रतिपक्षी दललाई समय दिनुभयो । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले माग पूरा नभएसम्म विरोध जारी रहने दोहोर्‍याउनु भयो ।

सभामुख भण्डारीले यसबारे जवाफ दिन मुख्यमन्त्री आएको भन्दै सांसदलाई बस्न अनुरोध गर्नुभयो। तर, नेपाली कांग्रेसका प्रमुख सचेतक कार्कीले मुख्यमन्त्रीको भाषण सुन्न नआएको भन्दै बैठक चल्न नदिने अडान कायमै राख्नुभयो । र, मुख्यमन्त्री शेरधन राईले बोल्न पाउनु भएन ।

प्रदेशसभाको यो अधिवेशनको कुनै पनि बैठकमा उपस्थित नभएका मुख्यमन्त्री राई अधिवेशन अन्त्य गर्ने निर्णय प्रदेश प्रमुख समक्ष पठाएर सम्बोधन गर्ने भन्दै बैठकमा पुग्नु भएको थियो । तर, विपक्षीको विरोधले नबोली फर्कनु पर्यो । र, पहिले नै अधिवेशन अन्त्यको निर्णय गरेको सरकारले विपक्षीकै अवरोधलाई अधिवेशन अन्त्यको कारण भनेर व्याख्या गरेको छ ।

तर प्रतिपक्षी दल यसमा सहमत छैनन । सरकारले माग सम्बोधन गर्न वेवास्ता गर्दै एमालेकै प्रदेश प्रमुख, मुख्यमन्त्री सहितको सेटिङमा प्रतिपक्ष दलको असहमतिका बाबजुद नियोजित रुपमा अधिबेशन अन्त्य गरेको कांग्रेसको तर्क छ ।

विधेयक अधिवेशनको रुपमा चिनिने हिउँदे अधिवेशनमा एउटा पनि बिधेयक प्रदेशसभामा टेबल समेत भएन ।प्रदेश सरकारले कृषि अनुदानसम्बन्धि एउटा विधेयक प्रदेशसभा सचिवालयमा लगे पनि प्रदेशसभामा त्यसले प्रवेश समेत पाउन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *