Main News

पाँचौं शिखर सम्मेलनमा तीन सम्झौतामा हस्ताक्षर गर्ने बिमस्टेकको निर्णय

हिमालय टिभी
२०७७ चैत २० गते १३:३२
पाँचौं शिखर सम्मेलनमा तीन सम्झौतामा हस्ताक्षर गर्ने बिमस्टेकको निर्णय

२० चैत २०७७ काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को १७औँ मन्त्रीस्तरीय बैठकले श्रीलंकामा हुने पाँचौँ शिखर सम्मेलनमा तीन सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

श्रीलंकाले यही वर्ष आयोजना गर्ने पाँचौँ शिखर सम्मेलनमा बिमस्टेक बडापत्रको टुंगो लगाउन पनि परराष्ट्रमन्त्री सहमत भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार पाँचौँ सम्मेलनमा आपराधिक मामिलामा पारस्परिक कानुनी सहयोगसम्बन्धी महासन्धि, बिमस्टेक प्रविधि हस्तान्तरण सुविधा स्थापनासम्बन्धी समझदारीपत्र तथा बिमस्टेक सदस्य मुलुकका कूटनीतिक प्राज्ञिकरतालिमसँग सम्बन्धित निकायहरूबीच आपसी सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय भएको हो ।

बैठकले बिमस्टेक सम्मेलनमा यसको बडापत्रको दस्ताबेजलाई अन्तिम रूप दिने आन्तरिक प्रक्रियामा छन् भन्ने विषयलाई नोट गरेको छ ।

यातायात कनेक्टिभिटीका लागि बिमस्टेकको गुरुयोजना, बिमस्टेकका विभिन्न क्षेत्र र उपक्षेत्रहरूको पहिचान र बिमस्टेक केन्द्रहरूको स्थापनासम्बन्धी हस्ताक्षर पनि आगामी सम्मेलनका क्रममा हुनेछ ।

बैठकले पाँचौँ शिखर सम्मेलनको तयारीबारे विस्तृतमा छलफल गर्दै सम्मेलनको घोषणापत्र मस्यौदालाई पनि अन्तिम रूप दिएको छ । बिमस्टेकको अध्यक्ष मुलुक श्रीलंकाले बैठकको आयोजना गरेको हो । बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् ।

तर म्यानमारसमेत सहभागी बैठकमा त्यहाँ सैनिक कुपछि भएको मानव अधिकार उल्लंघनका घटनाबारे छलफल नै भएन । बैठकमा म्यानमारबाट सैनिक सरकारका परराष्ट्रमन्त्री वुन्नामौङ ल्विन सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *