Main News

आज नेपालमा पनि विभिन्न कार्यक्रमसहित विश्व जल दिवस मनाइँदै

हिमालय टिभी
२०७७ चैत ९ गते १४:०७
आज नेपालमा पनि विभिन्न कार्यक्रमसहित विश्व जल दिवस मनाइँदै

९ चैत २०७७ काठमाडौं । विश्व जल दिवसआज ‘पानीलाई महत्व दिउँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

पानीमा रहेको पर्यावरणीय, सामाजिक र साँस्कृतिक महत्व बुझ्न र बुझाउन आज विभिन्न कार्यक्रम हुँदै छन् । मार्च २२ को दिनलाई विश्व जल दिवसको रुपमा संसारभर मनाइँदै आएको छ ।

अव्यवस्थित विकास निर्माणका कारण भविष्यमा पानीको संकट पर्न सक्ने भन्दै यस बारे सचेतना जगाउन सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र संघको भेलाले जल दिवस मनाउने घोषणा गरेको थियो । त्यस पछि सन् १९९३ देखि यो दिवस मनाउन थालिएको हो ।

विभिन्न अध्ययनका अनुसार पृथ्वीको झण्डै तीन चौथाई हिस्सा पानीले भरिएको छ । तर, यसमध्ये तीन प्रतिशत मात्रै पानी पिउन योग्य छ । विश्वमा पिउने पानीको समान वितरणमा चुनौती थपिदै गएको छ ।

विश्वकै जलस्रोतमा दोस्रो धनी देश भनिए पनि नेपालमा पिउने पानीको अभाव छ । पानीका मुहान र स्रोतको संरक्षण नहुँदा समस्या बढ्दो छ । बढ्दो शहरीकरणका कारण देशको राजधानी काठमाण्डौ उपत्यकामा नै पानीको अभाव छ । उपत्यकाका धेरैजसो धारामा पानी नै आउँदैन ।

चैत १५ पछि भने मेलम्चीको पानी काठमाडौंका धारामा पठाउने तयारी भएको छ । नेपालका ग्रामीण क्षेत्रमा अझै पनि सुद्ध पिउने पानीको अभाव छ । यस्तै, जलवायु परिवर्तनको असरले हिमाल पग्लिन थालेकोले पनि यसको संरक्षणमा चुनौती बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *