Main News

एमाले र माओवादी केन्द्र ब्युँताउने यस्तो छ तयारीमा निर्वाचन आयोग

हिमालय टिभी
२०७७ फागुन २५ गते १३:२१

२५ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि निर्वाचन आयोगले आजदेखि नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउन काम शुरु गर्दैछ । आज दुबै पार्टीलाई नाम र चुनाव चिन्हबारे जानकारीसहितको पत्राचार गरिनेछ ।

आइतबार नै सर्वोच्चको सूचना दर्ता गरेको आयोगले आजदेखि आवश्यक काम थाल्न लागेको हो । निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई आजै पत्राचार गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

एमाले र माओवादी केन्द्रको नाम र चुनाव चिन्हका लागि सम्पर्कमा आउन पत्राचार गरिने भएको हो । तत्कालिन नेकपाको आधिकारिकता विवाद टुंग्याउने ठूलो सकसबाट मुक्त भएको आयोगले अब अदालतको फैसला कार्यन्वयन गर्ने भएको छ ।

अदालतको फैसला शुक्रबार नै आयोगमा पुगेको थियो । दुई पार्टीबीच एकतापछि पूर्वएमाले कार्यकर्ता सन्ध्या तिवारीको नेतृत्वमा आयोगमा नेकपा एमाले नामको दल दर्ता छ ।

त्यस्तै गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द्र दर्ता भइसकेको छ । यस्तो अवस्थामा उनीहरुलाई आफ्नो नाम र चुनाव चिह्न परिवर्तनका लागि पत्राचार गर्ने तयारी भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

२०७५ सालको जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । आफूले पहिले नै दर्ता गरिसकेको नाममा फेरि अर्को पार्टी दर्ता भएको भन्दै ऋषिराज कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।

यो मुद्दामा सर्वोच्च अदालतले कट्टेलको पक्षमा फैसला गरेपछि एकीकरणअघिका एमाले र माओवादी केन्द्र ब्युँतिएको हो । सर्वोच्चको फैसलासँगै नेताहरु एकीकरण अघिकै अवस्थामा फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *