चार सन्तानसहित आमा कर्णालीमा हाम फालिन्, दुई छोरीको शव फेला

२५ फागुन २०७७ दैलेख । दैलेखकी एक महिलाले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेर आत्महत्या प्रयास गरेकी छिन । हामफालेकामध्ये दुई छोरीको शव फेला परेको छ ।
आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् । नदीमा फाल हालेकामध्ये दुईजना छोरीको शव अछाममा भेटिएको छ ।
अन्य तीन जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिनुभयो । १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको छ ।
आमा सुकी, १० वर्षीय ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवालको शव भने भेटिएको छैन । उनीहरुको कर्णाली नदीमै खोजी भैरहेको प्रहरीले जनाएको छ । सोमबार बिहान तीन छोरी र एक छोरासहित घरबाट हिँडेकी सुकी माइतमा पनि नभेटिएपछि आफन्तले खोजतलास गरेका थिए ।
बेपत्ता भएकी सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिनहुँ मदिरा सेवन गरेर श्रीमतीसँग झगडा गर्ने गरेको सूचना पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
प्रतिक्रिया