Main News

सर्वोच्चको फैसला राजनीतिक आग्रहबाट प्रेरितः नेकपा प्रचण्ड–नेपाल समूह

हिमालय टिभी
२०७७ फागुन २४ गते २०:४७
सर्वोच्चको फैसला राजनीतिक आग्रहबाट प्रेरितः नेकपा प्रचण्ड–नेपाल समूह

२४ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला राजनीतिक आग्रहले प्ररित भएको निष्कर्ष निकालेको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सर्वोच्च अदालतले नेकपा आधिकारिकताको सन्दर्भमा गरेको फैसलामा असहमति राखेको हो । पार्टीले फैसलाको न्यायिक पुनरावलोकनको प्रक्रियामा जाने पनि निर्णय गरेको छ । बैठकपछि निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसला कार्यान्वयनको प्रक्रियामा जाने निर्णय गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘फैसला कार्यान्वयनको प्रक्रियामा जाने क्रममा अदालतले भने अनुसार तत्कालिन माओवादी केन्द्र र नेकपा एमाले बन्ने नै भयो । यद्यपि हामी न्यायिक पुनरावलोकनको प्रक्रियामा पनि जाँदैछौ । राजनीतिक ढंगले त हामीले यसको असहमति र प्रतिवाद गरेकै छौँ । त्यस क्रममा हामीले पार्टी एकताको उद्देश्य सही भएको र पार्टी एकताको कार्यपनि सही भएका कारणले यस प्रक्रियामा अगाडी बढ्न जे सम्भव छ त्यो पहलकदमीलाई जारी राख्छौँ ।’

प्रवक्ता श्रेष्ठले सर्वोच्च अदालतले रिट निवेदकको माग दाबीभन्दा बाहिर गएर राजनीतिक फैसलाको रुपमा फैसला गरेको निष्कर्ष निकालेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो –‘बैठकले सर्वोच्च अदालतले गरेको फैसला रिट निवेदकको माग, दाबी भन्दा बाहिर गएर गरिएको राजनीतिक फैसलाको रुपमा लिइएको छ । पार्टीको नाम सम्बन्धमा परेको रिट निवेदन हुँदाहुँदै नामको बारेमा निष्कर्ष निकाल्नुपर्ने आदेश गर्नुपर्ने यसको उत्तरदायित्व, जिम्मेवारी हुँदाहुँदै त्यो भन्दा बाहिर गएर फैसला गरिएको छ । पार्टीको नामको बारेमा रिट निवेदकको दाबी अनुसार फैसला हुँदा हामीले त्यसलाई स्वागत नै गर्ने थियौँ तर रिट निवेदकको माग दाबीभन्दा बाहिर गएर कुनै राजनीतिक पार्टीको एकता गर्ने नगर्ने र कुनै एकीकृत पार्टीलाई विभाजन गर्ने जुन फैसला सर्वोच्च अदालतले सुनाएको छ त्यसप्रति हाम्रो गम्भिर असहमती छ । यो अस्वभाविक छ । अनुपयुक्त छ । गलत छ र त्यसैले यो फैसलाप्रति हाम्रो गम्भिर असहमति हामीले राखेका छौँ । सर्वोच्च अदालतको फैसला प्रति हाम्रो गम्भिर असहमति हुँदाहुँदै पनि अदालतको फैसला आफ्नै ढंगले कार्यान्वयनको प्रक्रियामा जाने कुरा स्पष्ट नै छ । यस सन्दर्भमा हामीले राजनीतिक रुपमा आफ्नो दृष्टिकोण र विचार राख्ने र त्यसलाई अगाडी बढाउने, कानुनी ढंगले पनि उपयुक्त उपचार खोज्ने, संघर्ष गर्ने प्रक्रिया पनि अगाडी बढाउने छौँ ।’

प्रचण्ड–नेपाल समूहको रुपमा यो अन्तिम बैठक रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । अब सर्वोच्च अदालतको फैसला अनुसार तत्कालिन नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) ब्युँतिने भएको छ । नेकपा केपी ओली समूहले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने यसअघि नै प्रतिक्रिया दिइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *