Main News

प्रचण्ड–नेपाल समूहको बहिस्कार र कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित

हिमालय टिभी
२०७७ फागुन २३ गते १८:०४
प्रचण्ड–नेपाल समूहको बहिस्कार र कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित

२३ फागुन २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज हिउँदे अधिवेशन शुरु भएको दिन पहिलो बैठक नै प्रतिपक्षी दलका सांसदहरुको विरोधका कारण अवरुद्ध बनेको हो ।

संविधानको मर्म विपरीत ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न माग गर्दै प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका थिए । संसदको सातौ अधिवेशन शुरु भएकै दिन सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेश भएपछि कांग्रेस सांसदहरु आफ्नो आसनबाट उठेर वेल घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो ।

सभामुखले प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद्(काम, कर्तव्य र अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ पेश गर्न अनुमति दिएपछि कांग्रेस सांसहरु उभिएर विरोध गरेका थिए ।

त्यसपछि गरेपछि समय लिएर बोल्दै नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले प्रमुख प्रतिपक्षी दलले अध्यादेशलाई स्वीकार गर्न नसकिने भन्दै फिर्ता लैजान आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “संविधानले संवैधानिक परिषद् भनेको कुनै प्रधानमन्त्रीले, कुनै सरकारले नियुक्ति गर्ने ठाउँ होइन । राज्यले नियुक्ति गर्ने ठाउँ हो । राज्य भनेको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका हो सभामुख महोदय तर आज सरकारले संसदलाई विघटन गरेको वहानामा, अध्यायदेश ल्याउने बाहनामा संसदको भावनाविपरीत जुन अध्यादेशलाई ल्याएर राज्यका संवैधानिक अंगहरुको प्रमुख र सदस्यहरुको नियुक्ति गर्ने काम गर्‍यो यसले संविधानको धज्जी उठेको हुनाले यो अध्यादेशलाई स्वीकार गर्दैन । सरकारलाई आग्रह गर्छ यो अध्यादेश संविधानको भावनाविपरीत भएकाले यो अध्यादेश संसदभित्र प्रवेश नगराएर तुरुन्तै फिर्ता लैजानका लागि प्रमुख प्रतिपक्षी दल आग्रह गर्दछ । ”

उहाँले प्रतिनिधिसभा पुनर्स्थापित भएपछि पनि पहिलो बैठकमा नै सरकारले संसदीय अभ्यासलाई सुचारु रुपले अगाडि बढाउन नदिएर व्यवधान खडा गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो“ संसद नभएका बेला प्रधानमन्त्रीलाई अध्यादेशबाट मुलुक चलाउनुपर्ने बाध्यता कहाँबाट आयो ?”

उहाँले महिला नेतृत्व रहेको उपसभामुख पदको निर्वाचन नभएको प्रति पनि आक्रोश पोख्नुभयो ।

उहाँले भन्नुभयो “महिला दिवसको पूर्वसन्धामा भन्न पनि दुःख लागेको छ आज लाग्ने ३ वर्ष भइसक्यो फरक दलले, महिला नेतृले उपसभामुख पदको निर्वाचान गरौ भनेर थाल्दा पनि महिला नेतृत्वमाथी चुनौति खडा भएको छ । ”

सभामुखले अध्यादेश पेश गर्ने कार्यक्रम अगाडि बढाएपछि पुन कांग्रेसका सांसदहरु उभिएपछि सभामुखले प्रमुख सचेतक बालकृष्ण खाँडलाई बोल्न समय दिनुभएको थियो । प्रमुख सचेतक खाँडले संविधानविपरीत आएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अबिलम्ब फिर्ता गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो “असंवैधानिक अध्यादेश स्वीकार गर्नै सकिन्नँ । पहिलोपल्ट सरकारले फर्कायो अनि फेरि ल्यायो । यो अध्यादेश यो सदनमा प्रवेश गर्न सक्क्तैन । यो असंवैधानिक अध्यादेश अबिलम्ब फिर्ता गरियोस् । ”

विरोधकाबीच मन्त्रीले अध्यादेश पेश गरेपछि नेपाली कांग्रेसका सांसदहरु नाराबाजी गर्दै वेल घेर्न पुगेका थिए । सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेपछि सभामुखले बैठक स्थगित गर्नुभएको हो ।

नेकपा प्रचण्ड–नेपाल समूहले आजको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेशहरु पेश गर्ने कार्यसूची राखेको विरोधमा उनीहरुले संसद बैठक बहिस्कार गरेका हुन् ।

बैठकको सुरुमा नै प्रचण्ड–नेपाल समूहका सांसद भीम रावलले प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय नराखिने प्रचलन भएको भन्दै अध्यादेश पेश गर्ने कार्यसूची राखेकामा विरोध जनाएका थिए ।

यसअघि सांसद भीम रावलले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेसँगै प्रधानमन्त्री कुन पार्टीको हो भन्ने प्रश्न उठाउनु भएको थियो ।

संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाअनुसार संसद बैठक बस्ने दिन नै सर्वोच्च अदालतले नेकपाको नाम विवादमा फैसला गरेको थियो ।

संसदको आइतबार बसेको प्रचण्ड–नेपाल समूहका सांसद भीम रावलले विषेश समय लिएर कार्यसूचीमा अध्यादेश आएको भन्दै विरोध गर्नुभयो । सर्वोच्चको फैसला कानूनी हो कि राजनीतिक हो भन्ने विचार विमर्श गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो , ‘नेकपा होइन भने वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *