Political Hightlights

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने यस्तो छ प्रचण्ड–नेपाल समूहको तयारी

हिमालय टिभी
२०७७ फागुन २३ गते ७:३६
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने यस्तो छ प्रचण्ड–नेपाल समूहको तयारी

२३ फागुन २०७७ काठमाडौं । नेकपाका प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव अघि बढाउने तयारी गरेको छ ।

ओलीले आजको प्रतिनिधि सभा बैठकबाट राजीनामा नदिए कांग्रेससँग समझदारी गरेर अविश्वास प्रस्ताव अघि बढाउने तयारी गरिएको हो।

अविश्वास प्रस्तावका लागि प्रचण्ड–नेपाल समूहले अग्रसरता लिएको भए पनि प्रधानमन्त्रीमा भने कांग्रेस सभापति सभापति शेरबहादुर देउवालाई प्रस्ताव गरिने नेताहरुको भनाइ छ।

यसअघि प्रतिनिधि सभा विघटन गरिएकै दिन अर्थात् पुस ५ गते प्रचण्ड–नेपाल समूहले संसद् सचिवालयमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो । तर अविश्वास प्रस्ताव दर्ता गर्दाको समयका कारण त्यो प्रस्ताव विवादित भएको थियो।

प्रतिनिधि सभा पुनःस्थापित भएपछिको नयाँ परिस्थितिमा भने प्रचण्ड–नेपाल समू्रहले देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै आएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापित गरिदिएपछि ओलीले राजीनामा दिने अपेक्षा गरिएको थियो। तर उहाँले राजीनामा नदिने बरु हटाएर देखाउन चुनौती दिँदै आउनु भएको छ ।

त्यसैले अविश्वासको प्रस्ताव पारित गरेर उहाँलाई थप नैतिक संकट सिर्जना गर्ने प्रयासमा नेकपाको एक पक्ष र कांग्रेसबीच छलफल अघि बढेको हो। ओलीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाउन प्रचण्ड–नेपाल समूह र कांग्रेस सभापति देउवा निकट नेताहरु सक्रिय भएका छन्।

हिजो दुवै पक्षका नेताहरुले भेटघाट गरेर प्रारम्भिक सहमति समेत गरेको बताइएको छ। तर औपचारिक सहमति भने नभएको बुझिएको छ ।

आजको प्रतिनिधि सभा बैठकअघि दुवै पक्षबीच मौखिक वा लिखित रुपमै थप सहमति भई अविश्वास प्रस्ताव अघि बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्