नेकपा ओली समूहको मुख्य दुश्मन नेपाली कांग्रेस : उपप्रधानमन्त्री पोखरेल (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ काठमाडौं । नेकपा ओली समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिपक्षी नेपाली कांग्रेसका बारेमा विवादास्पद अभिव्यक्ति दिनुभएको छ ।
पार्टीको दस्तावेज र नीतिविपरीत पोखरेलले कांग्रेसलाई दुश्मन भन्नुभएको हो । उहाँका अनुसार कांग्रेस बैरी पार्टी हो ।
काठमाडौंमा भएको कार्यक्रममा उपप्रधानमन्त्री एवम ओली समूहका नेता ईश्वर पोखरेलले प्रचण्ड नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खोजेको भन्दै आपत्ति जनाउनुभएको हो ।
कांग्रेस बैरी पार्टी भएको र त्यस्तो पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन खोज्नु गलत भएको पोखरेलको तर्क छ ।
नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्ताव गरेको पृष्ठभूमिमा पोखरेलको प्रतिक्रिया आएको हो ।
नेकपाले आफ्नो राजनीतिक दस्ताबेजमा कांग्रेसलाई दुश्मन भनेको छैन । तर पार्टी फूट र सरकार बनाउने खेलका क्रममा पोखरेलले कांग्रेसलाई शत्रु भन्नुभएको छ । पोखरेलले प्रचण्ड नेपाल समूहकी नेतृ पम्फा भुसालविरुद्ध पनि आक्रामक अभिव्यक्ति दिनुभयो ।
नेतृ भुसालले दुई दिन अघि प्रधानमन्त्री ओलीले राजीनामा नदिए संसद बैठकबाट गलहत्याउने चेतावनी दिनुभएको थियो । पोखरेलले त्यसैको प्रतिवाद गर्नुभएको हो ।
प्रतिक्रिया