Main News

कसरी भएको थियो भागरथी भट्टको हत्या, प्रहरीले सार्वजनिक गर्‍यो यस्तो विवरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ५ गते १८:५७
कसरी भएको थियो भागरथी भट्टको हत्या, प्रहरीले सार्वजनिक गर्‍यो यस्तो विवरण (भिडियो रिपोर्टसहित)

५ फागुन २०७७ बैतडी । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

दोगडाकेदार गाउँपालिका वडा नम्वर ७ की भागरथीको हत्या भएको १३ दिनपछि प्रहरीले अभियुक्त सार्वजनिक गरेको हो । भागरथीकै छिमेकी र एउटै स्कुलमा पढ्ने १८ वर्षीय दिनेश भट्टलाई प्रहरीले हत्यामा संलग्न भएको भन्दै सार्वजनिक गरेको छ ।

ति युवकले घरायसी रिसिइबीका कारण हत्या गरेको प्रहरीलाई बयान दिएको पनि बताइएको छ । अभियुक्तले भागरथीको परिवारसँग बिगतको रिसिइबी साँध्न घटना गराएको बयान दिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डीआइजी उत्तमराज सुवेदीले दिनेश पहिले नै जंगलमा कुरेर बसेको र भागरथी आएपछि धकेलेर लडाइ हत्या गरेको देखिएको बताउनुभयो ।

अदालतबाट म्याद थप गराई युवकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । भागरथी अध्ययनरत दोगडाकेदारकै सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेश छिमेकी हुन् ।

हिजो राती उनलाई खोचलेक प्रहरी चौकीबाट जिल्ला प्रहरी कार्यालय लगिएको थियो । आरोपी भट्टको शंकास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साबिती बयानका आधारमा भागरथीको हत्यामा संलग्नता पुष्टि भएको डीआइजी सुवेदीले बताउनुभयो । उहाँले अनुसन्धानमा सहयोग गरेको भन्दै स्थानीय बासिन्दालाई धन्यवाद पनि दिनुभयो ।

यसअघि कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारा पत्ता लागाउन नसकेको भनि आलोचना व्यहोरिरहेको प्रहरीले भागरथीको हत्यामा भने निकै गम्भीरता देखाएको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी सुवेदी आफै घटनाको अनुुसन्धानमा खटिनु भएको थियो । मृतकका दाजु शंकर भट्टले कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दिनुभएको छ ।

त्यसैका आधारमा मुद्दा अघि बढाइएको छ । दिनेशलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले अनुमति दिएको छ ।

दिनेशविरुद्ध जबरजस्ती करणी र ज्यान मुद्दा लगाइएको छ । माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी भागरथी भोलिपल्ट लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *