Main News

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, यस्ता छन् आजका एजेण्डा

हिमालय टिभी
२०७७ फागुन ५ गते ७:२८
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, यस्ता छन् आजका एजेण्डा

५ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी १४ औं महाधिवेशन र प्रतिनिधि सभा विघटनपछिको अवस्था बारे छलफल हुनेछ ।

कांग्रेसले फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने गरी यसअघि कार्यतालिका ल्याएको थियो। महाधिवेशन तोकिएको मितिमा संभव नभएपछि नयाँ मिति तय गर्न सक्ने बुझिएको छ । तर पार्टी सभापति शेरबहादुर देउवा भने प्रतिनिधिसभा विघटन सम्बन्धि सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला कुर्ने पक्षमा देखिनु भएको छ ।

देउवा प्रतिनिधिसभा पुनःस्थापना भयो भने आगामी जेठ मसान्तसम्म र पुनःस्थापना नभई चुनावमा जानुपर्ने अवस्थामा भदौ पहिलो हप्ता मिति तोक्ने तयारीमा हुनुहुन्छ ।

कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुने र असाधारण स्थितिमा बढीमा एक वर्षसम्मको अवधि बढाउन सकिने उल्लेख छ ।

कांग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौंमा भएको थियो । यस्तै सभापति शेरबहादुर देउवाको कार्यकाल पनि सकिन लागेको छ। फागुन १९ गतेसम्म देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल छ।

अब कांग्रेसले कार्यकाल थप गर्न संविधानको साहरा लिनुपर्छ, जसअनुसार कांग्रेसलाई थप छ महिना कार्यकाल थप गर्ने बाटो खुला हुन्छ। कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणको काम पनि सकेको छैन। अहिलेसम्म अर्घाखाँची जिल्लाले मात्रै क्रियाशील सदस्यता टुंग्याएर विवरण केन्द्रीय कार्यालयमा बुझाएको छ।

क्रियाशील सदस्यता वितरण तथा नवीकरण र समायोजन विवाद देखिएका क्षेत्रमा हल गर्नेबारे पनि आजको बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ।

देउवाले महाधिवेशन गर्न आलटाल गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष असन्तुष्ट छन्।

यस्तै आजको बैठकमा प्रतिनिधिसभा विघटनपछिको अवस्थाका बारेमा पनि छलफल हुनेछ । बैठकमा वरिष्ठ नेता पौडेल र सिटौला पक्षले आन्दोलन चर्काउने प्रस्ताव लैजाने तयारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *