नेकपा विवाद निरुपण नभएसम्म निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने प्रचण्ड–नेपाल समूहको अडान
२ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–समूहले नेकपाको विवाद निरुपण नहुँदासम्म निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने जनाएको छ।
निर्वाचन आचारसंहिताका सन्दर्भमा छलफल गर्न आयोगले बोलाएको सर्वदलीय बैठकमा नेता लिलामणि पोखरेलले निर्वाचन प्रक्रिया शुरु गर्ने आधार नभएको बताउनुभएको हो ।
छलफलपछि बाहिरिने क्रममा नेता पोखरेलले पार्टीको अडान राखेको जानकारी दिनुभयो । ६४ प्रतिशत मत प्राप्त गरेको दलको समस्या हल नगरी कसरी निर्वाचन तयारी गर्न सक्नुहुन्छ भनेर आयोगलाई प्रश्न सोधेको जानकारी दिनुभयो ।
आयोगले बोलाएको छलफलमा १४ दल सहभागी भएको बताइएको छ। चुनावको बारेमा छलफल गर्न आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बिहान ११ बजे बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
दलको सुझावपछि आयोगले आचारसंहिताबारे निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो । आयोगले चुनावमा राजनीतिक दल र उमेदवारले बैंक खाताबाट मात्रै खर्च गर्नुपर्ने प्रावधानसहितको मस्यौदा तयार पारेको छ।
निर्वाचन आयोगले चुनावलाई मितव्ययी, पारदर्शी बनाउन तयार पारेको मस्यौदामा बैंक तथा वित्तीय संस्थामा खाता खोलेर खर्च गर्नुपर्ने उल्लेख छ। निर्वाचन खर्चसम्बन्धी आचारसंहितामा दलको विधानबमोजिम आधिकारिक प्रतिनिधिद्वारा खर्च गर्नुपर्ने, आयोगले तोकेकोभन्दा बढी खर्च गर्न नपाउने, खाता सञ्चालन तथा निर्वाचन खर्चको कारोबार पारदर्शी हुनुपर्ने आयोगको प्रस्ताव छ।
त्यस्तै, पाँच हजारभन्दा बढी चन्दा लिनुपर्ने भए बैंक वा वित्तीय संस्थामार्फत लिनुपर्ने गरी आयोगले मस्यौदा बनाएको छ। आयोगले चुनावको तयारी गरे पनि नेकपा आधिकारिकता विवादका कारण तोकिएकै मितिमा चुनाव हुने सम्भावना कमजोर हुँदै गएको छ ।
प्रतिक्रिया