Main News

नेकपा प्रचण्ड–नेपाल समूहद्वारा चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा

हिमालय टिभी
२०७७ फागुन २ गते १४:५८
नेकपा प्रचण्ड–नेपाल समूहद्वारा चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा

२ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिगमनविरुद्ध चौथो चरणको आन्दोेलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको प्रतिगमनकारी निर्णयविरुद्ध प्रचण्ड–नेपाल समूहले फागुन ५ देखि १५ गतेसम्म काठमाडौंसहित देशभर विरोध प्रदर्शन, सभा तथा हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने भएको हो ।

१५ गतेसम्म संघीय राजधानी र प्रदेश राजधानीमा दैनिकजसो विरोध प्रदर्शनका कार्यक्रम हुने भएका छन् । प्रचण्ड–नेपाल समूहले प्रतिगमनविरुद्ध फागुन १२ गते चितवन र २१ गते दाङमा ठूलो विरोध प्रदर्शन गर्ने भएको छ । संविधान र लोकतन्त्रको पक्ष तथा सरकारको प्रतिगमनविरुद्ध फागुन ७ देखि १५ गतेसम्म हस्ताक्षर कार्यक्रम गरिने भएको छ ।

फागुन ८ गते काठमाडौंमा प्रतिगमनविरुद्ध बृहत अन्तरक्रिया गर्ने, फागुन ६ गते प्रतिगमन, मंहगी र भ्रष्टाचारविरुद्ध टुँडिखेल वरिपरि मानवसाङ्लोसहित अपरान्ह १ घण्टा विरोध प्रदर्शन गर्ने, फागुन ५ देखि १२ गतेसम्म सम्बन्धित प्रदेश जिल्ला कमिटीले प्रतिगमनविरुद्धका कार्यक्रम गर्ने, फागुन ७ गते मुलुकभरका सबै पालिकाका वडा कार्यालयमा विरोध प्रदर्शन गर्ने, फागुन ९ गते प्रतिगमन र महिला हत्या, हिंसा एंव बलात्कारविरुद्ध काठमाडौं उपत्यकासहित देशव्यापी प्रदर्शन गर्ने, फागुन १० गते दलित मोर्चाको तर्फबाट काठमाडौं उपत्यकासहित देशव्यापी विरोध गर्ने, फागुन ११ मधेसी, आदिवासी, जनजाति, महिला, मुस्लिम, थारु पिछडिएका क्षेत्रलगायत उत्पीडित समुदायको पहिचान झल्किने झाँकीसहित प्रदर्शन गर्ने, १४ गते काठमाडौंमा बृहत युवा ¥याली र १५ गते किसान सुकुम्बासी मोर्चाको तर्फबाट विरोध कार्यक्रम गरिने भएको छ ।

प्रचण्ड–नेपाल समूहले नेपालगञ्ज र जनकपुरमा पनि विशाल सभा गर्ने तयारी गरेको छ । ती स्थानमा गरिने सभाको मितिपछि टुंगो लगाउने केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र निरंकुश कदम, अलोकतान्त्रिक ढंगले जारी गरेको अध्यादेशमार्फत संवैधानिक निकायका पदाधिकारी नियुक्त गरी संविधान र कानूनको ठाडो उल्लंघन गर्ने काम भएको भन्दै ती सबै नियुक्ति खारेज गरी संविधान एवं कानून कार्यान्वयनको अवस्थामा ल्याउन आफुहरुले देशव्यापी संघर्षको कार्यक्रम गरेको नेता भट्टराईले बताउनुभयो ।

आइतबार बिहान पेरिशडाँडामा बसेको पार्टीको केन्द्रीय संघर्ष समितिको बैठकले तय गरेका आन्दोलनका कार्यक्रमलाई पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो । प्रचण्ड–नेपाल समूहले पुस ५ गतेदेखि लगातार संघर्षका कार्यक्रम सञ्चालन गर्दै आएको छ । पुस १४, माघ ९ र माघ २८ गते काठमाडौमा विरोधसभा गरेको यो समूहले काठमाडौंबाहिर पनि दैनिकजसो विरोधसभा गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *