Political Hightlights

मुख्यमन्त्री पोखरेलले भने–प्रचण्ड–नेपाल समूहले कम्युनिष्ट आन्दोलनको हित गर्दैन

हिमालय टिभी
२०७७ फागुन १ गते १८:०२
मुख्यमन्त्री पोखरेलले भने–प्रचण्ड–नेपाल समूहले कम्युनिष्ट आन्दोलनको हित गर्दैन

१ फागुन २०७७ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पा र रुकुममा चुनाव जितेर प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले कम्युनिष्ट आन्दोलनको हित गर्न सक्दैन भन्ने प्रमाणित गर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली समूहका स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले जनयुद्धको थलोको रुपमा रहेको रोल्पा र रुकुममा विजयको झण्डा फहराएर प्रचण्ड–नेपालले नेतृत्व गरेको पार्टीले कम्युनिष्ट आन्दोलनको हित गर्न नसक्ने प्रमाणित भएको दाबी गर्नुभएको हो ।

उहाँले भन्नुभयो – ‘रोल्पा रुकुमलाई जनयुद्धको थलोका रुपमा कमरेड प्रचण्डले जे चाह्यो त्यहिँ हुने थलोको रुपमा चित्रण गर्ने गरिन्छ । तर आउने चुनाव रोल्पा र रुकुममा केपी शर्मा ओलीको नेतृत्वमा विजयको झण्डा फहराउँदैछ भन्ने कुराको उद्घोष गर्न चाहान्छु । र त्यसका माध्यमबाट हामी प्रचण्ड र नेपाल कमरेडले नेतृत्व गरेको पार्टीले कम्युनिष्ट आन्दोलनको हित गर्न सक्दैन भन्ने कुरा हामी रोल्पा र रुकुमका माध्यमबाट प्रमाणित गर्ने योजनाका साथ अगाडी बढेको कुरा म तपाईहरुका बीचमा राख्न चाहन्छु ।’

मुख्यमन्त्री पोखरेलले प्रचण्ड–नेपाल समूह चुनावबाट भागेको आरोप समेत लगाउनुभयो । प्रचण्डले माधव नेपालको ढाडमा टेकेर टाउकोमा हिर्काउन खोजेपनि भुइँमा पछारिएको उहाँको भनाइ छ । प्रचण्डले एमालेको विभाजनबाट लाभ लिन खोजेपनि जनमतको भिख माग्नुपर्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

प्रचण्डलाई जनयुद्धका कमाण्डरहरुले समेत साथ छोड्दै केपी शर्मा ओलीको नेतृत्वको पार्टीमा आएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘जनताबाट डराएर चुनावबाट भाग्न खोज्दै हुनुहुन्छ । सम्माननीय प्रधानमन्त्रीलाई आरोपित गर्दै हुनुहुन्छ । प्रथम अध्यक्षलाई आरोपित गर्दै हुनुहुन्छ । कमरेड प्रचण्ड, जनयुद्धको समयमा उहाँको एउटा चर्चित भनाई थियो, ढाडमा टेकेर टाउकोमा हान्ने । पटकपटक उहाँले ककसका ढाडमा टेक्नुभयो कस कसको टाउकोमा हिर्काउनुभयो त्यो इतिहासका कुरा भए तर पार्टी एकता पछाडी उहाँ माधव नेपालको ढाडमा टेकेर कमरेड केपी ओलीको टाउकोमा हिर्काउन खोज्नुभएको थियो । आज सडकमा पछारिनुभएको छ । बिलौनाका गीतहरु गाउँदै हुनुहुन्छ र अब एमालेभित्रको विभाजनबाट लाभ लिन खोज्ने प्रचण्ड अब जनताको जनमतको भिख माग्नुपर्ने अवस्थामा पुग्नुभएको छ । अब कमरेड प्रचण्डका साथमा हिजोका जनयुद्धका कमाण्डरहरुले साथ छोड्दै हुनुहुन्छ । आज हामी फागुन १ गतेका दिन बुटवलमा भेला भएर जनमुक्ति सेनाका कमाण्डरहरुले घोषणा गर्नुभयो प्रचण्ड कामरेड दुई पटक तपाई प्रधानमन्त्री हुनुभयो । जसले तपाईलाई प्रचण्ड बनाए तपाईले उनीहरुलाई बिर्सिनुभयो । कमरेड केपी ओलीले हामीलाई सम्झनुभो । अब केपी ओलीको नेतृत्वमा हामी राष्ट्र बनाउने अभियानमा जुट्न चाहन्छौँ । कमरेड केपी ओलीको नेतृत्वमा हामी राष्ट्रिय स्वाधिनताको नेतृत्व गर्न चाहन्छौँ । कालापानी, लिम्पियाधुरा, लिपुलेक हामी नेपालको भूभागमा समेट्ने केपी ओलीको नेतृत्वमा साथमा जान चाहन्छौँ भन्नेकुराको उद्घोष गर्नुभएको छ ।’

मुख्यमन्त्री पोखरेलले कानून र संविधानले केपी शर्मा ओली अध्यक्ष र विष्णु पौडेल महासचिव भएको पार्टी चिन्ने भएकाले यही पार्टी आधिकारिक रहेको दाबी गर्नुभयो । उहाँले संविधान कार्यान्वयनका सन्दर्भमा लुम्बिनीबाट सक्षम स्थानीय सरकार छ भनी सन्देश दिएको पनि बताउनुभयो । कानून निर्माण तथा अन्य संरचना निर्माणको दृष्टिले पनि लुम्बिनी सरकार अगाडी रहेको उहाँको भनाइ छ । उहाँले कपिलवस्तु, लुम्बिनी र परासीलाई मुलुकको पर्यटकीय राजधानी बनाउने परिकल्पना गरिएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्