Main News

पर्सामा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई जना प्रहरी घाइते

हिमालय टिभी
२०७७ माघ ३० गते १२:४७
पर्सामा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई जना प्रहरी घाइते

३० माघ २०७७ पर्सा । पर्साको ओरिया खोलास्थित नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् ।

प्रहरी जवानहरु २४ वर्षीय आयुष राय यादव र २५ वर्षीय नरेश यादव घाइते भएका हुन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

आयुषको देब्रे कानमा चोट लागेको छ । कानमा १८ वटा टाँका लगाइएको नारायणी अस्पताल आकस्मिक विभाग प्रमुख डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।

नरेशको देब्रे हातको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको डाक्टर सिंहले जानकारी दिनुभयो । दुवै जना खतरामुक्त रहेको नारायणी अस्पतालले जनाएको छ ।

ओरिया खोलामा बालुवा उत्खनन गरेर लैजाँदै गरेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा उनी घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ ।

नेपालतर्फ पर्ने ओरिया खोलामा बालुवा लिन आएका भारतीयलाई रोक्ने क्रममा झडप हुँदा दुईजना जवान घाइते भएको र स्थिति सामान्य रहेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले जानकारी दिनुभयो ।

पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपडारीमा पर्ने ओरिया खोलाबाट वर्षेनी भारतीय बालुवा तस्करले बालुवा उत्खनन गरेर लैजाने गरेका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपट्टी र पिडारीगुठीको संयुक्त टोलीले तीनवटा ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा झडप भएको थियो ।

ओरिया खोलामा वर्षौदेखि नेपाली भूमिमा प्रवेश गरी नदीजन्य पदार्थ उत्खनन गरी लैजाने गरे पनि सुरक्षा निकायले रोक्न सकेको छैन । भारतीय बालुवा तस्करसँग पटक(पटक विवाद र झडप हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *