राज्यविरुद्धको कसुर गरेको आरोपमा नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ झाँक्री पक्राउ

२९ माघ २०७७ काठमाडौं । प्ररहीले राज्यविरुद्धको कसुर गरेको अरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले रामकुमारीलाई शंखमुलस्थित निवासबाटै पक्राउ गरेको हो । पक्राउ गर्ने समयमा झाँक्रीका समर्थकहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । महाशाखाले राज्य विरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी जारी गरेको छ ।
महानगरीय अपराध महाशाखाले जारी गरेको जरुरी पक्राउ पुर्जीमा “राज्यविरुद्धका कसूर अन्तर्गत दफा ५८ को कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले यो पुर्जी जारी गरिएको छ । ”
मुलुकी अपराध संहिताको दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने व्यवस्था छ । यसको दफा १ मा लेखिएको कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन भन्ने उल्लेख छ ।
यस्तो कसूरमा कसूरदारलाई ७ बर्ष कैद वा ७० हजार रुपैया जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
बिहीबार बिहानै सादा पोसाकका प्रहरी झाँक्रीलाई पक्राउ गर्न शंखमुलस्थित निवास पुगेपनि झाँक्रीले पक्राउ पूर्जीबिना आफुले गिरफ्तारी नदिने बताउनुभएको थियो ।
निवासमा पुगेका सञ्चारकर्मीसंग प्रतिक्रिया दिदै उहाँले सरकारविरुद्ध आफुहरु सडक आन्दोलनमा रहेकाले सरकारले नियम अनुसार पक्राउ गर्न सक्ने तर आफ्ना अभिव्यक्तिहरु राजनीतिक विषय भएको दाबी गर्नुभएको थियो । सादा पोसाकका प्रहरी निवास पुगेसँगै पुगेका उहाँका समर्थकले झाँक्रीको समर्थन तथा सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
प्रतिक्रिया