Main News

के जुलुस र सभाबाट कोरोना सर्दैन ? जनस्वास्थ्यप्रति दलहरु किन गैरजिम्मेवार ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २४ गते १६:२९
के जुलुस र सभाबाट कोरोना सर्दैन ? जनस्वास्थ्यप्रति दलहरु किन गैरजिम्मेवार ? (भिडियो रिपोर्टसहित)

२४ माघ २०७७ काठमाडौं । विश्व नै यतिबेला कोरोना महामारीसँग जुधिरहेको छ । कोरोनासँग जुध्न कोरोनाविरुद्धको खोप आएसँगै आशा थपिएको छ । तर पनि कोरोनाबाट बच्न सावधानी अपनाउन भने नछोड्न विज्ञको आग्रह छ । तर पछिल्लो डेढ महिनादेखि सडकमा देखिएका जुलुस र सभा सम्मेलनले अब नागरिकले कोरोना नै बिर्सिसकेको भान हुन्छ ।

पछिल्ला केही दिनमा देशका सबैजसो शहरमा यस्तो हुलमुलको दृश्य देखिनु सामान्य बनेको छ । विरोध प्रदर्शन, सभा र सम्मेलनका नाममा दैनिक रुपमा नै मानिस जम्मा हुने र भिडभाड गर्ने क्रम बढ्दो छ ।

यस्ता सभा सम्मेलन हुनुभन्दा दुई महिनाअघि कोरोना संक्रमण रोक्नका लागि भन्दै निषेधाज्ञा र चार–पाँच महिनाअघि देशभर लकडाउन गरियो । सडक सुनसुान पारियो । त्यो लकडाउन र निषेधाज्ञा गरिएको समय र अहिलेको समयमा कोरोनाको जोखिम उस्तै छ ।

कोरोनाको पहिलो लहर मथ्थर हुँदै गए पनि कोरोना संक्रमितको संख्या शून्यमा झरेको छैन । तर त्यो चेतावनीलाई नागिरकले मात्र हैन सरकारले नै एक कानले सुनेर अर्को कानले उडाउने गरेको छ । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा यस्ता सभा सम्मेलन भइरहेका छन् ।

अझै प्रधानमन्त्रीकै दलले सभा गर्ने तालिका नै सार्वजनिक गरिसकेको छ । कोरोना संक्रमणको ख्यालै नगरी गरिएको सभा सम्मेलनले समस्या ल्याउने चेतावनी सरुवा रोग विशेषज्ञको छ ।

कोरोना भाइरसले आफ्नो रुप परिवर्तन गरेसँगै कोरोना संक्रमण नियन्त्रण गर्न अहिले पनि बेलायत, फ्रान्स, दक्षिण कोरिया, अष्ट्रेलिया लगायतका देशमा लकडाउन घोषणा गरिएको छ ।

त्यस्तै अन्य देशमा सावधानी अपनाउन आग्रह गर्दै भिडभाड हुन दिएको छैन भने आम नागरिकले पनि त्यसलाई पालना गरेका छन् । तर नेपालमा कोरोना महामारीकै समयमा दिनदिनै भिडभाड बढ्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना धेरै हुने जनस्वास्थ्यविद्को भनाइ छ । नेताहरुलाई पनि यो विषयमा गम्भिर बन्न उनीहरुको सुझाव छ ।

कोरोना भाइरसको खोप प्रयोगमा आएको भए पनि मोबाइलको रिङटोनमा स्वास्थ्य मन्त्रालयले भिडभाडमा नजान र मास्क अनिवार्य प्रयोग गर्न सन्देश दिन्छ । तर राजनीतिक दल र सरकारले नै आयोजना गरेका यस्ता कार्यक्रमले भने सरकारले दिने गरेको सन्देश नै मजाक जस्तो भएको छ । स्वास्थ्य मन्त्रालय अहिले भैरहेको भिडभाडको विषयमा के भन्छ त ?

कोरोनाले पार्ने प्रभाव अहिले सकिएको छैन । कोरोनाको खोप आए पनि दोस्रो लहर छिट्टै आउन सक्ने चेतावनी विज्ञहरुले दिइसकेका छन् । यस्तो समयमा आफ्नो र परिवारको जीवन सुरक्षाको ख्याल आफैले गर्न र स्वविवेकको प्रयोग गर्न आमनागरिकलाई विज्ञहरुको सुझाव छ ।

भिडियोका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *