Main News

नेकपा प्रचण्ड–नेपाल समूहको आमहड्ताल देशभर कहाँ के भयो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २२ गते २०:४२
नेकपा प्रचण्ड–नेपाल समूहको आमहड्ताल देशभर कहाँ के भयो ? (भिडियो रिपोर्टसहित)

२२ माघ २०७७ काठमाडौं। नेकपाको प्रचण्ड नेपाल समूहले आव्हान गरेको आम हडतालका कारण आज देशैभरीको जनजीवन प्रभावित भयो । ठाउँ ठाउँमा झडप भयो भने प्रदर्शनकारीले सवारी साधन र पसलमा तोडफोड गरे । सयौं प्रदर्शनकारी पक्राउ परे भने कयौं घाइते भएका छन् ।

आमहड्तालका क्रममा जनकपुर, हेटौंडा, धनगढी लगायतका शहरमा झडप भएको छ । जनकपुरधाममा भएको झडपमा प्रचण्ड नेपाल समूहका नेता रामचन्द्र झा, मातृका यादव लगायत घाइते हुनु भएको छ । जनकपुरधामको शिव चोकमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले अश्रुंग्यास र केही राउन्ड हवाइ फायर समेत गरेको छ ।

नेता झाको टाउकोमा चोट लागेको छ । अन्य केही प्रदर्शनकारी र प्रहरी जवान लालबाबु राय पनि घाइते भएको हाम्रा सहकर्मीले जनाएका छन् । प्रदर्शनकारीले आधा दर्जन सवारी साधनमा तोडफोड गरेका छन् । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

हेटौंडाको बुद्धचोक र सिमाचोकमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । हेटौंडामा अलपत्र परेका यात्रुवाहक बस र मालबाहक गाडीलाई प्रहरीले स्कटिङ्ग गरेर जिल्ला बाहिर पठाएको थियो ।

धनगढीमा नेकपा ओली समूहका कार्यकर्ताले आमहड्तालको विरोध गर्दै प्रदर्शन गरेका छन् । बन्दकर्ता र बन्दको विरोधमा उत्रिएका समूहबीच धनगढीको चौराहामा भेट भएको थियो । झडप हुन नदिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । चौराहमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता आमहड्ताल सफल पार्न भेला भएका थिए ।

आम हड्तालको प्रभाव चितवनमा पनि दिनभर पर्यो। हड्ताल सफल बनाउन बिहानैदेखि चितवनमा कार्यकर्ता सडकमा उत्रिएका थिए । चितवनमा बन्दकर्ताले चार वटा ट्रकमा तोडफोड गरेका छन ।

आम हड्तालको प्रभाव विराटनगरमा पनि परेको छ । बन्दकर्ताले चियापसलमा समेत तोडफोड गरेका छन् । बजार बन्द गराउदै हिडेका बन्दाकर्ताले विराटनगर महानगरपालिका कार्यालय अगाडि रहेको प्रमोद चियापसल तोडफोड गरे ।

बुटवलका विभिन्न चोकमा प्रदर्शनकारीले सवारी साधन रोकेका थिए । ठाउँठाउमा टायर बालेर प्रर्दशन गरिएको थियो । लुम्बिनी प्रदेशमा बन्दको बढी प्रभाव परेको छ ।

पोखरामा बन्दकर्ताको उपस्थिति न्यून देखिए पनि बजार भने सुनसान रह्याो । पृथ्वी चोकमा रहेका बन्दकर्ताले सडकमा निस्केका सवारीसाधन रोकेका थिए ।

प्रधानमन्त्रीको गृह जिल्ला झापामा पनि आज जनजीवन प्रभावित भएको छ । जिल्लाको भद्रपुर, बिर्तामोड, काँकडभिट्टा, धुलाबारी, बुधबारे, अर्जुनधारा, दमक, सुरुङ्गा लगायत क्षेत्र बन्द भए ।

कञ्चनपुरमा पनि विभिन्न चोकमा प्रदर्शन गरिएको छ । बन्द गराउन प्रदेशस्तरीय नेता र जनप्रतिनिधि पनि सडकमा उत्रिएका छन् ।

दाङका मुख्य बजार तुलसीपुर, घोराही ,लमही लगायत बन्द भए ।

सुर्खेतमा पनि बन्दको प्रभाव परेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि बन्द गराउन सडकमा उत्रनुभएको छ ।

वीरगंजमा प्रचण्ड नेपाल समूहका नेता विहानै पक्राउ परेका थिए । घण्टाघर चोकबाट रहबर अन्सारी लगायतका एक दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।

आमहड्तालको क्रममा रामेछापमा भने फरक दृश्य देखिएको छ । वन्दकर्ताले वजार, सडक र सडक पेटी सफा गरेका छन् । बिहानैदेखि मन्थली बजारका सडकमा निस्केका आन्दोलनकारीले सरसफाई गर्दै बन्द गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *