Main News

प्रचण्ड–नेपाल समूहको आमहड्ताल, शाक्यसहित दर्जनौं नेता कार्यकर्ता प्रहरी नियन्त्रणमा

हिमालय टिभी
२०७७ माघ २२ गते ९:३१
प्रचण्ड–नेपाल समूहको आमहड्ताल, शाक्यसहित दर्जनौं नेता कार्यकर्ता प्रहरी नियन्त्रणमा

२२ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज देशभर आम हड्ताल गरेको छ ।

सरकारले संवैधानिक पदहरूमा गैरकानूनी रुपमा नियुक्ति गरेको विरोधमा सशक्त आन्दोलन घोषणा गर्दै प्रचण्ड–नेपाल समूहले आज आम हड्ताल गरेको हो । आज आमहड्ताल गरेको प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ता बिहानैदेखि सडकमा उत्रिएका छन् ।

आम हड्तालको प्रभाव काठमाडौं उपत्यकामा बिहानैदेखि देखिन थालेको छ । बिहानैदेखि प्रहरी र सशस्त्र प्रहरीले काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ ।

उज्यालो नहुँदै सामाखसुसीबाट केही युवा पक्राउ परेका छन् भने कलंकीबाट नेतृ अष्ठलक्ष्मी शाक्यसहित दर्जनौं नेता कार्यकर्ता पक्राउ परेका छन् ।

यसैबीच, उपत्यकाका विभिन्न ठाउँमा बन्द गर्दै हिँडेका अन्दोलनकारी र प्रहरीबीच मुठभेड भएको छ । अनेरास्ववियूका संयोजक रञ्जित तामाङका अनुसार हालसम्म पार्टीका केन्द्रीय सदस्य तथा युवा संगठनका संयोजक रामप्रसाद सापकोटा दीपशिखा, रमेश मल्ल, तिलक भण्डारीसहित दर्जनौं नेता कार्यकर्तालाई प्रहरीले गिराफ्तार गरेको छ ।

नेकपाको आन्दोलनलाई ध्यानमा राखी गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा बनाउँदै चोकचोकमा प्रहरी परिचालन गरेको छ । सरकारले संवैधानिक निकायका पदाधिकारीलाई जबरजस्ती ढङ्गले संसदीय सुनुवाई बिनै शपथ गराएपछि प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले आन्दोलनको कार्यक्रम थप सशक्त गर्ने निर्णय गरेको हो ।

हिजो पत्रकार सम्मेलन गर्दै प्रचण्ड–नेपाल समूहले बन्द हड्ताल लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । यसअघि हिजो साँझ पार्टीले काठमाडौंमा मशाल जुलुस निकालेको थियो ।

देश आन्दोलनमै रहेको अवस्थामा सरकार र राष्ट्रपति मिलेर बलमिच्याइँपूर्वक संवैधानिक परिषदमा पदाधिकारी नियुक्त गरी शपथ गराइएको, सभामुखलाई संवैधानिक परिषद् बैठकमा नबोलाइएको र संसदीय सुनुवाइ नै नगरी नियुक्ति गरिएको भन्दै प्रचण्ड–नेपाल समूहले विरोध गरेको हो । पार्टीले सरकारको कदम खारेजीको माग समेत गरेको छ ।

सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ महानगरपालिका–२६ आत्मज्ञानस्थित सडकमा आज बिहान ६ः३० बजे प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजानी गर्दा ट्याक्सी जलेर नष्ट भएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान मोटरसाइकलमा आएका अज्ञात समूहले ट्याक्सी आगजानी गरेको राससलाई जानकारी दिनुभयो ।

ट्याक्सी आगजानी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । सरकारले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका प्रमुख तथा सदस्यको शपथ खुवाएसँगै बुधबारै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले यसको विरोध गर्दै आजलाई आमहडतालको घोषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *